सपनाको व्यापार -कविता

साहस न्याैपाने

न्याय र समानताको पसल खोलेर
क्रान्तिको ब्यापार गर्नेहरु नै
गाउँबस्ती र झुपडीहरुका आवाजको
सारथी बन्न खोजेपछि
चल्ने नै भयो क्रान्तिको ब्यापार ।

विकास र समृद्धिको पसल खोलेर
सपनाको ब्यापार गर्नेहरु नै
समाज परिवर्तनको सम्बाहक बन्न खोजेपछि
चल्ने नै भयो सपनाको ब्यापार ।

सामाजिक सद्भावको पसल खोलेर
राष्ट्रियताको ब्यापार गर्नेहरु नै
संघियताको पक्षपोषक बनेपछि
चल्ने नै भयो राष्ट्रबादको ब्यापार ।

राजनितिको पसल खोलेर
गुलिया भाषणको ब्यापार गर्नेहरु नै
राष्ट्रको मुक्तिदाता बनेपछि
चल्ने नै भयो राजनितिको ब्यापार ।

अन्याय र बिभेदमा परेका आवाजहरु
खोक्रा आश्वासनमा नि:शब्द बनेपछि
चल्ने नै भयो लुटको ब्यापार ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार