नेपालमा पहिलो पटक प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो आयोजना हुने

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)ले  आगामी माघ १९, २० र २१ गते  काठमाडौंको भृकुटीमण्डपमा प्रथम प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो आयोजना गर्न लागेको छ  । एनेपिजेले एक बिज्ञप्ति सार्वजनिक गर्दै कार्यक्रमबारे जानकारी गराएको हो । एक्सपोको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गर्ने बिज्ञप्तिमा जनाइएको छ ।

एनएफपीजेले हेवी हेल्प लिंकको मूख्य प्रायोजनमा नेपालमा पहिलो पटक प्रिन्टिङ र फोटोग्राफ्रीको एक्पो २०७४ को आयोजना गर्न लागेको हो । हेवी हेल्प लिंकले नेपालमा प्रिण्टिङ र फोटोग्राफीका विभिन्न उपकरणहरुको आयात गरी विक्रिवितरण गर्दै आएको छ । फोटो कन्सर्न यसको गोल्ड स्पोन्सर रहेकोछ भने मर्कन्टाईल सिल्भर स्पोन्सर र पाटन प्याथ ल्याब ब्रोन्ज स्पोन्सरको रुपमा रहेको छ । एक्स्पोको विभिन्न ईभेन्ट म्यानेजमेन्टको कार्यमा सफलता हासिल गरेको वनअप इभेन्ट प्रा.लि. को ब्यवस्थापन रहेको छ । एक्स्पोको सह-आयोजकमा काठमाडौं फोटोग्राफर संघरहेको छ  भने नेपाल मुद्रण व्यवसायी महासंघलाई पनि अर्को आयोजकको रुपमा समेटेको छ ।

अन्तर्राष्ट्रिय स्तरको प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो नेपालमा पहिलोपटक हुन लागेको हो । प्रिन्टिङ एण्ड फोटोग्राफी सम्बन्धि विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादनहरुको यस एक्स्पोमा सहभागिता हुने भएको छ । अमेरिका, जापान, कोरिया ,चिन, ताईवान, भारत लगायतका विभिन्न देशका उत्पादक कम्पनीहरुले एक्स्पोमा प्रत्यक्ष रुपमा सहभागिता जनाउने आयोजकको दावी छ ।

एक्स्पोमा कुल १ सय वटा स्टलहरु रहने आयोजकले जनाएको छ । जसमा १३ ठूला र ८७ वटा साना स्टलहरु रहनेछन् । प्रदर्शनी स्थलमा कार्यशाला गोष्ठी, अन्तक्र्रिया ,फोटो प्रदर्शनी, फोटो सेशन तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना गरिनेछ । प्रदर्शनी स्थलमा फुड स्टलको समेत ब्यवस्था गरिने आयोजकले बताएको छ ।

प्रिन्टिङ तर्फ अफसेट प्रेस, फ्लेक्स प्रिन्ट, फोटोग्राफी तर्फ क्यामेरा उत्पादक कम्पनीहरु, फोटो पेपर उत्पादक कम्पनीहरु, फोटो प्रिन्टका विभिन्न मेसिन उत्पादक कम्पनीहरु, मोबाईल, ल्यापटप ,कम्प्युटर, वित्तीय तर्फ बैङ्ग तथा बीमा कम्पनीहरु, फोटोग्राफी तथा फोटोपत्रकारिता सम्बन्धि कलेजहरु, ईष्टिच्युटहरु, प्रकाशनगृह लगायतको सहभागिता रहनेछन् ।

एक्स्पोको मुख्य उद्देश्य सबै प्रिन्टिङ तथा फोटोग्राफी क्षेत्रलाई समेट्ने प्रयास रहेको आयोजकले जनाएको छ । औधोगिक प्रिन्टर, कमर्शियल  प्रिन्टर, प्रिन्टिङ प्रेस र क्यामरा तथा फोटोग्राफीसँंग सम्बन्धित सबै क्षेत्रलाई एक्स्पोमा समेट्ने प्रयास गरिएको आयोजक सस्थाका संयोजक हरि रेग्मीले जानकारी दिए ।

एनएफपीजे २०५३ सालमा स्थापना भएको देशभरका क्रियाशील फोटो पत्रकारहरुको छाता सङ्गठन हो । यसका ३२ वटा जिल्ला शाखाहरु रहेका छन् । एनएफपीजेले मुख्यतया: फोटोपत्रकारहरुको हकहितका लागि आवाजहरु उठान गर्दै आएको छ भने फोटोपत्रकारको क्षमता तथा दक्षता अभिवृद्धिका लागि विभिन्न किसिमका तालिम, अन्तरक्रिया, गोष्ठि, सेमिनार,अगार्ड तथा फोटो प्रदर्शनीहरुगर्दै आएको छ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार