अब घरमै अध्ययन गरेर पनि विश्वविद्यालयको डिग्री लिन सकिने

काठमाडौं । नेपाल खुला विश्वबिद्धलयले नियमित रूपमा कलेज वा विश्वविद्यालयको कक्षामा जान नसक्नेहरुका लागि घरमै अध्ययन गरेर पिएचडीसम्मको डिग्री लिन पाउने व्यवस्था गरेको छ । नेपालमा पहिलो पटक स्थापना भएको नेपाल खुला विश्वविद्यालयले प्रविधिको प्रयोग गरी डिप्लोमादेखि पिएचडीसम्मको डिग्री दिने भएको हो ।

खुला विश्वविद्यालयको सोमबार बसेको प्राज्ञिक परिषद् बैठकले डिप्लोमा, पोस्टग्य्राजुयट डिप्लोमा, मास्टर्स, एमफिल र पिएचडीसम्मका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । प्राज्ञिक परिषद्का सदस्य एवं शिक्षाविद् प्रा.डा.मनप्रसाद वाग्लेले खुला विश्वविद्यालयले सञ्चालन गर्ने कार्यक्रम परिषद्बाट निर्णय भएको र २४ माघमा बस्ने सभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने बताए । विश्वविद्यालयका कुलसचिव (रजिस्ट्रार) कमल ढकालका अनुसार केही कार्यक्रम यही आर्थिक वर्षमै सुरु गर्ने तयारी भएको छ । पाठ्यक्रमका केही ‘फ्रेम वर्क’ तयार भएका छन् ।

नेपाल खुला विश्वविद्यालयमा तीनवटा संकाय स्थापना हुने भएका छन् । व्यवस्थापन र कानुन संकाय, सामाजिकशास्त्र र शिक्षा संकाय स्थापन हुने भएका छन् । यस्ता संकायबाट साधारण विषयदेखि इन्जिनियरिङसम्मका विषय दूरशिक्षाबाट पढ्न पाइने भएको छ । त्यसैगरी विज्ञान, स्वास्थ्य र प्रविधि संकाय स्थापना हुँदै छ । यो संकायमा प्राविधिक तथा व्यावसायिक सीपदेखि ‘पियोर साइन्स’का विषय पनि अध्ययनको व्यवस्था हुनेछ । इन्जिनियरिङका पनि धेरै विषय अध्ययन गर्न पाउने कुलसचिव ढकालले बताए ।

दूरशिक्षा विधिबाट नेपाल खुला विश्वविद्यालयमा अध्ययन गरी डिग्री प्राप्त गर्न सकिनेछ । प्राध्यापक वाग्लेले तीन तरिकाले अध्ययन गर्न सकिने बताए । विद्यार्थी आफैँले स्वाध्ययन गर्न सक्छन् । विश्वविद्यालयमा पढ्नुपर्ने कोर्स र सामग्रीको अध्ययन गर्न सकिनेछ । यदि कोर्स नबुझेमा इमेलमार्फत् प्रश्न सोधेर उत्तर पाउन सक्छन् ।

नयाँ पत्रिका

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार