पार्टी एकताबारे प्रचण्डको यस्तो खुलासा !

ललितपुर, १ माघ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले–माओवादीबीच पार्टी एकताको सबै विषयमा सहमति बनिसकेको खुलासा गरेका छन् । आज एक दैनिक पत्रिकाको फेसबुक लाइभमा कुराकानी गर्दै प्रचण्डले वाम गठबन्धनमा कुनै समस्या नभएकोले पार्टी एकतामा पनि समस्या नभएको जानकारी दिए । उनले एमालेसँग मात्रै नभई अन्य कम्युनिष्ट घटकहरुबीचमा पनि बृहत एकताका लागि पहल गरिने बताए ।

एमाले र माओवादी पछाडि फर्किनको लागि पुल भत्काइसकेको दोहोर्याउदै प्रचण्डले पार्टी एकता चाँडै टुंगिने प्रतिक्रिया दिए । उनले पदीय भागवण्डाको विषय मिलिसकेको दावी गरे । उनले भने, ‘म झण्डै ३० वर्षदेखि पार्टीको नेतृत्वमा छु । प्रधानमन्त्री पद के हो भन्ने बारे दुई पटक प्रधानमन्त्री हुँदा थाहा पाइसकेको छु ।’ प्रचण्डले अगाडी भने, ‘केपी ओली पनि अहिले अध्यक्ष हुनुहुन्छ भने मेरै प्रस्तावमा प्रधानमन्त्री भइसक्नुभयो । त्यसैले, पार्टी एकता पदका लागि होइन देशको विकास, सम्बृद्धि र शान्तिका लागि हो । देशले अव राजनीतिक अराजकता थेग्न सक्दैन ।’

पदका लागि नभइ समाजवाद उन्नमुख देश विकासका लागि पार्टी एकता गर्न लागेको प्रचण्डको भनाइ छ ।

प्रचण्डले वामपन्थीहरुको एकताबाट कांग्रेसलाई नआत्तिन पनि आग्रह गरे । उनले कांग्रेसबाटै विभाजन भएर गएका महन्थ ठाकुरलगायतलाई पनि पार्टीमै समाहित गरेर बलियो कांग्रेस निर्माण गर्न सुझाव दिए ।

प्रचण्डले राष्ट्रपति, उप–राष्ट्रपति, सभामुख, प्रदेशका मुख्यमन्त्रीलगायतका पदहरुमा छलफल नै नभएको जानकारी गराए । सो पदहरुको बारेमा एमाले अध्यक्ष ओली थाइल्यान्डबाट उपचार गरी फर्किएपछि छलफल गरी निष्कर्षमा पुग्ने पनि जानकारी गराए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार