सत्ता लम्ब्याउने बाटो खोज्दै राष्ट्रपति सी

काठमाडौं । चीनको सत्तारूढ कम्युनिष्ट पार्टीले दुई कार्यकालमात्रै राष्ट्रपति बन्न पाउने संविधानको व्यवस्था हटाउन प्रस्ताव गरेको छ।

उक्त कदमले राष्ट्रपति सी जिनपिङलाई अहिलेको कार्यकाल सकिएपछि पनि पदमा निरन्तरता दिन बाटो खोल्नेछ। सन् २०२३ पछि पनि राष्ट्रपति पदमा रहिरहन सीले खोजेको व्यापक अनुमान गरिएका छन्।

केही महिनाअघिको पार्टी महाधिवेशनबाट सीले माओ जेदोङपछिको सर्वाधिक शक्तिशाली नेताका रुपमा आफ्नो अवस्था मजबुत पारेको ठानिएको छ। पार्टीको विधानमा समेत उनको विचार उल्लेख गरिएको छ।

विगतको अभ्यासविपरीत यसपटकको महाधिवेशनमा वर्तमान राष्ट्रपतिका उत्तराधिकारी बन्न सक्ने ठानिएका व्यक्तिबारे सार्वजनिक गरिएन।

सन् २०१३ यता राष्ट्रपति रहेका सी र सत्तामा रहेका नेताहरूले सन् २०२३ मा सत्ता छाड्नुपर्ने हो। पाँच–पाँच वर्ष गरी राष्ट्रपतिको कार्यकाल १० वर्षमा सीमित गर्ने परिपाटी सन् १९९० को दशकमा सुरु भएको हो।

माओको समयमा र त्यसलगत्तै देखिएको अस्तव्यस्तता नदोहोरियोस् भन्नका लागि देङ सियाओपिङले त्यस्तो परिपाटी सुरु गरेका थिए।

सीका दुई पूर्ववर्तीले त्यही परिपाटीको अनुसरण गरे तर सीले चाहिँ आफ्नै नियम बनाउन खोजेजस्तो देखिन्छ। बीबीसी

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार