विकृत राजनीतिको अन्त्य गर्दै समुन्नत रसुवा निर्माण गर्नेछौं – माधब लामिछाने (समिर)

विष्णु माया लामिछाने र राम कृष्ण लामिछानेका सुपुत्र माधब लामिछाने (समिर) २०३४ साल कार्तिक २९ गते उत्तरगया गाउँपालिका वडा नं. ५ रसुवामा जन्मिएका हुन् । वि.सं. २०४६ मा नेकपा मोटो माशलको विद्यार्थी संगठन अखिलको सदस्य भई राजनीति सुरुवात गरेका उहाँ वि.सं. २०४७ मा कालिका हिमालय माध्यमिक विद्यालयमा अखिलका सचिव र वि.सं. २०४८ मा अध्यक्ष थिए । वि.सं.२०४९ मा नेकपा एकता केन्द्रको विद्यार्थी संगठन अनेरास्वयुको जिल्ला आयोजक समिति सदस्य भएका उहाँ वि.सं. २०५३ मा नेकपा माओवादीको विद्यार्थी संगठन अखिलको जिल्ला अध्यक्ष भई २०५७ सम्म विद्यार्थी राजनीतिमा सक्रिय थिए । वि.सं. २०५२÷०५३÷०५४ सालमा पटक–पटक प्रहरीद्वारा गिरफ्तार भए पछि वि.सं. २०५५ सालमा नेकपा माओवादी पार्टीमा पूर्णरूपमा भूमिगत भएका लामिछाने भूमिगतको समयमा वि.सं. २०५८ साल असोज ५ गतेदेखि रसुवा, नुवाकोट जिल्ला जनसरकारको उपप्रमुख समेत रहेका थिए । जनयुद्धको क्रममा रसुवा, नुवाकोट, धादिङमा क्रियाशील उहाँले नेकपा माओवादी शान्ति प्रक्रियामा आइसकेपछि वि.सं. २०६५ देखि वि.सं. २०७० सम्म नेकपा माओवादी रसुवाको सचिवको रुपमा रही पार्टी प्रमुखको नेतृत्व समालेका छन् । २०७० सालदेखि २०७३ सालसम्म जनमुक्ति सेनामा रही काम गरेका उहाँले माओवादी पार्टी रसुवाको पाँचौँ सम्मेलन पश्चात् वरिष्ठ उपध्यक्षको समेत नेतृत्व समालेका छन् । हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रसुवाका नेता रहेका लामिछानेसँग रसुवाको राजनीति, कम्युनिष्ट आन्दोलन र समसामयिक विषयमा गरिएको कुराकानीको मुख्य अंश :

समकालीन नेपाली राजनीतिलाई कसरी हेरिरहनु भएको छ ?
हाम्रो समाजमा रहेको असमानताको विरुद्धमा हामीले १० वर्षे लामो जनयुद्ध लड्यौँ । आज कम्युनिष्ट आन्दोलन तीब्र ध्रुवीकरणको प्रक्रियामा छ । विगतमा जसरी नेपाली समाज एउटा अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा थिया,े त्यो विस्तारै पूँजीवादीकरण हँुदै गइराखेको छ । हामीले लडेको १० वर्षे जनयुद्धको जगमा १९ दिने जनआन्दोलन भयो । त्यो जनआन्दोलनपछि राजतन्त्र ढल्यो । सामन्तवादका जराहरूलाई हामीले खत्तम गर्दै अगाडि बढ्ने क्रममा अहिले नेपालले संविधान प्राप्त गरेको छ । हाम्रो यात्रा समाजवादको यात्रा हो । त्यो समाजवादको यात्रामा जान आधार तयार गर्दै दुई वटा कम्युनिष्ट पार्टी बीच एकताको प्रक्रियाबाट नेपाल कम्युनिष्ट पार्टी नेकपा भएको छ । यसले हाम्रो समाजवादको यात्रालाई लगभग सुनिश्चित गरिसकेको छ । त्यसो हुँदा हामी निकै आशावादी हुने अवस्थामा छौँ ।

सैद्धान्तिक रुपमा कम्युनिष्टहरूमा आएको विचलनका कारण आफ्ना अतीतका सपनाहरूको एैठनमा कतिको पर्नु हुन्छ ?
वास्तवमा हामी जुन सपनाका लागि युद्धको प्रक्रियामा गयौं । त्यो सपना पुरा नभएको अवस्थामा त्यसले हामीलाई घोच्ने गर्छ । बल्जाउने गर्छ र त्यसले पीडाबोध गराउने गर्छ । हामी युद्धमा जाँदा १७ हजारको बलिदानी व्यहोरेका छौँ । झन्डै १२ हजार माओवादी पक्षको मृत्यु भएको छ । उहाँहरू सहिद हुनुभएको छ । कैयौँ घाइते हुनुहुन्छ । अनि लाखौँ कार्यकर्ताहरू जसले आज सहि ढङगले व्यवस्थापन हुन नसक्दा अरबको भूमिमा रोजी रोटीका लागि जान बाध्य हुनुपरेको छ । कतै हामी असफल भएका त हैनौं । बदलिएको विश्व राजनीतिक परिवेशमा हामी दीर्घकालीन जनयुद्धकै प्रक्रियाबाट गएको भए त्यो भन्दा ठूला आम नरसंहारहरूको प्रक्रियाबाट गुज्रिने र नेपालको कम्युनिष्ट आन्दोलन नै धरापमा पर्ने अवस्था थियो । त्यो क्रान्तिकारी रक्षाका लागि हाम्रो नेतृत्वले ढङ्गले यहाँसम्म ल्याई पुर्यायो भन्ने लाग्छ । त्यसो हुँदा विगतका सहिद, बेपत्ता, घाइतेहरू र हामीले भोगेका दुःख पिडाहरूलाई हेर्दा त्यसले हामीलाई सताउँछ । तर पनि हामीहरू एउटा समाजवादको यात्रामा अगाडि बढिराखेका छौँ । संविधान निर्माणपश्चात् आर्थिक समृद्धिको यात्रामा अघि बढिराखेका छौँ । नेकपा एमाले र तत्कालीन माओवादी केन्द्र बीच पार्टी एकता भएर नेकपा बनेको छ । झन्डै दुई तिहाइको सरकार छ । यसले समाजवादको यात्रालाई अगाडि बढाउने हो भने सहिदका ती अधुरा सपनाहरू पुरा हुनेछन् । फेरि अरवका मरुभूमिमा हाम्रा जनयुद्धका लडाकुहरू, योद्धाहरू ढाड सेकाउन जान पर्ने छैन । आर्थिक समृद्धिको मार्गको चित्रहरू कोर्दै अगाडि बढ्न सक्षम हुने छौँ भन्ने आशावादिताले गर्दा ती सपनाहरू फेरि पुरा हुन्छन भन्ने आशामा हामी अघि बढिरहेका छौँ ।

समकालीन नेपाली कम्युनिष्ट राजनीतिले लिन खोजेको बाटोको भविष्य कस्तो देख्नु हुन्छ ?
निकै उज्वल छ । नेपाल कम्युनिष्ट पार्टीले लिन खोजेको अबको बाटो समाजवादको बाटो हो । त्यो समाजवादको यात्रा भनेको तत्कालीन माओवादीले जनआन्दोलनमा जानु पूर्व जनताका आधारभूत आवश्यकताहरूको परिपूर्ति गर्ने जुन सपना देखेको थियो । त्यो सपना पुरा गर्नका लागि हामी त्यो बाटोतर्फ अघि बढिसकेका छौँ । मलाई लाग्छ अहिलेको कम्युनिष्ट आन्दोलनको नेतृत्वले त्यो समाजवादको यात्रा तय गर्नेछ । र हामी समाजवाद प्राप्तिको महाअभियानमा लाग्ने छौँ । समकालनीन कम्युनिष्ट पार्टीले शोषणरहित समाज निर्माण गर्ने समाजवादको बाटो लिन खोजेको छ । यसको भविष्य चीरकालसम्म छ ।

नेपाल कम्युनिष्ट पार्टी रसुवाले तत्कालिन एमालेबाट ७९ जना र माओवादी केन्द्रबाट ५६ जनाको नाम सिफारिस गरि केन्द्रमा पठाईएको जानकारीमा आएको छ । यसका साथै रसुवामा कस कसले कुन कुन पद लिने र अन्य बाँकीलाई कसरी मिलाउने भएको छ ?
तत्कालीन एमालेबाट ७९ जना र माओवादी केन्द्रबाट ५६ जनाको नाम हामीले सिफारिस गरेका छौँ । सिफारिसमा कसले कुन पद पाउने भन्दा सहमति नभए पछि हामीले सचिवालयसम्मको मात्रै निर्माण गरेर पठाएका छौँ । त्यसको विषयमा थप छलफल कार्यदलले प्रतिवेदन सार्वजनिक गरेपछि मात्र गर्दा राम्रो होला । पार्टी अनुशासनलाई पनि ख्याल गर्नुपर्ने हुन्छ । अन्य बाँकीलाई मिलाउने सम्बन्धमा पार्टीले जिम्मेवार ढङ्गले निर्णय गर्ने छ । इमानदार कार्यकर्ताहरूको यहाँ उच्च मूल्याङकन हुन्छ । र नेकपा रसुवाले यहाँको विकृत राजनीतिको अन्त्य गराउनेछ ।

हाल गठन प्रक्रिया यहाँसम्म पुग्दा तपाईहरूले केन्द्रीयताको ज्यादा र जनवादको कम अभ्यास गरेको देखिन्छ नि ?
स्वभाविक हिसाबले कम्युनिष्ट पार्टी अहिले पनि लेलिनको जनवादी केन्द्रीयताको सिद्धान्त अनुसार नै अगाडि बढेको छ । त्यो भन्दा अर्को हाम्रो साङ्गठनिक सिद्धान्त प्रतिपादित भएको अवस्था छैन । अभ्यासमा कहिले काँही केन्द्रीयता अलि बढी भएको जस्तो कहिले अलि जनवाद बढी भएको जस्तो हुन्छ । कम्युनिष्ट आन्दोलन भित्रका नेतृत्वसँग कतिपय बेला जनवादी केन्द्रीयताको प्रश्नमा डिभेड पनि हुने गरेको छ ।
जिल्लाको हकमा भन्नुपर्दा हामी दुबै पार्टीको शीर्ष तहको नेतृत्वमा भएका छलफलहरू, पदाधिकारी तहमा भएका छलफलहरू, सचिवालय तहमा भएका छलफलहरूबाट निष्कर्ष सहित कार्यदलले नाम सिफारिस गरेका छौँ । त्यसो हुँदा पुरै यो केन्द्रीयता भयो भन्ने होइन । तर हामीले तलसम्म जनवादको अभ्यास गर्न खोजेको भए यो नाम सिफारिस हुन सक्ने अवस्था पनि नहुन सक्थ्यो । यसलाई केन्द्रीयता नै बढी भयो भनेर भन्न मिल्ने अवस्था होइन । किन कि हामीले कमिटीगत रूपमा छलफल गरेर निर्णय गरेका छौँ ।

नेकपा रसुवाको नेतृृत्वमा तपाइको पनि चर्चा सुनिन्छ, यस सम्बन्धमा तपाईहरू कसरी सहमति गर्ने सोचमा हुनुहुन्छ ?
नेतृत्वको बारेमा जसरी चर्चा परिचर्चा चलेको छ त्यो सबैले आ–आफ्नो ठाउँबाट माग गर्ने दाबी गर्ने कुरा स्वभाविक हो । कैयौँ साथीहरू नेतृत्वका लागि योग्य पनि हुनु हुन्छ । मेरो चर्चाको हकमा भन्नुपर्दा म २०४६ सालदेखि कम्युनिष्ट आन्दोलनमा निरन्तर क्रियाशील रहेर १० वर्षको भूमिगत जीवन र त्यो भन्दा यताको सिंगो राजनीतिक जीवन नै क्रियाशील भएको नाताले मैले दाबी गर्ने स्वभाविक रह्यो । तर हामी जिल्लाबाट टुङ्ग्याउने अवस्थामा छैनौँ । हामीले कार्यदलमा आ–आफनो ढङ्गले नामहरू सिफारिस गरेको अवस्था छ । कार्यदलबाट जे टुङ्गिएर आउँछ । ज, जसले जहाँ जे, जिम्मेवारी पाउँनु हुन्छ, त्यसमा पार्टी नेतृत्वले गरेको निर्णयलाई स्वीकार गरेर आगामी कम्युनिष्ट आन्दोलनमा क्रियाशील हुने कुरा नै हुन्छ ।

नेकपा रसुवा जनवर्गीय संगठनहरूको एकता कहिलेसम्म, कुन पद्धतिका आधारमा सम्पन्न गर्ने सोचमा छ ?
जनवर्गीय संगठनहरूको आफ्नै खालको कार्यदलहरू छन् । जनवर्गीय संगठनको केन्द्रले कार्यदल बनाएको छ । त्यो कार्यदलले केन्द्रीय स्तरको संयोजन एकताको प्रक्रियालाई मात्रै अगाडि बढाउने या उनीहरूले पनि जसरी पार्टी केन्द्रले जिल्ला जिल्लामा कसले कुन नेतृत्व लिने भनेर टुङग्याउछ, त्यसरी नै टुङग्याउने भन्ने निर्धारण भएको छैन । तर हाम्रो जिल्ला निर्माण भईसकेपछि रसुवाको हकमा विगत देखि नै सहकार्य गर्दै आएको दुईवटा पार्टी भएकाले हामीलाई गाह्रो छैन । हामी निकै छिटो जिल्ला संरचना बनिसकेपछि तत्कालै हामी बैठक बसेर जनवर्गीय संगठनको एकता टुङ्ग्याउछौँ ।

रसुवाका स्थानीय सरकारले सम्पादन गरिरहेका कामलाई कसरी हेरिरहनु भएको छ ?
हामी संघीय सरकारका कानुन अनुसार अगाडि बढ्दा स्थानीय सरकारका ऐन, नीति नियमहरू पूर्ण रुपमा अघि नबढिसकेको अवस्था छ र अर्कोतिर प्रदेश सरकारका नीति नियम अगाडि नबढिसकेको अवस्था । अहिले नीति निर्माणको समय छ । त्यसो हुँदा अहिले अलि अलि उल्झन भने छ, त्यही स्तरमा स्वच्छाचारिता अप्नाएको पनि देखिन्छ । मितव्ययी खर्च र दिगो विकासलाई ख्याल नगरी बजेट निर्माण गरेको देखिन्छ । स्थानीय तहले सम्पादन गरिरहेका काम विकासको रणनैतिक योजना मुताविक भने देखिदैन । यधपी अहिले गरेर सिक्ने चरणमा भएकाले आलोचना गर्न पर्ने बेला भइसकेको भने छैन । जहाँसम्म राज्यले जनतालाई करको दायरामा ल्याउने कुरा नाजायज होइन । जनताले आफूले गरेको आम्दानीको, आफूले गरेको कमाइको कर तिर्नु पर्ने सहि हो । स्थानीय सरकार जनताको मेरुदण्ड भएकाले जनताको विकासका लागि, जनताको सम्मृद्धिका लागि, स्थानीय सरकारलाई प्रभावकरी रूपमा अगाडि बढाउने गरी रसुवा कम्युनिष्ट पार्टीले निर्णय गर्छ ।

सम्मृद्ध रसुवा निर्माणका लागि स्थानीय सरकारले कस्ता–कस्ता कार्य गर्नु आवश्यक देख्नु हुन्छ ?
रसुवा निकै सुन्दर र आर्थिक वृद्धिको हिसाबले निकै सम्भावना बोकेको जिल्ला हो । मुख्यतः स्थानीय सरकारले गर्ने कामहरूमा दीर्घकालीन प्रकृतिका कामहरूमा जोड दिन जरुरी छ । साना–तिना बजेट विनियोजन गर्नुभन्दा दीर्घकालीन ढंगले सम्मृद्धिको दिशामा जान के–के कामहरू गर्नु उपयुक्त हुन्छ भन्ने ढङ्गले नीति निर्माण गरेर त्यसमा बजेट हाल्न स्थानीय सरकारले जरुरत छ ।
रसुवाको सम्मृद्धिको आधार भनेको जलविद्युत हो । जलविद्युतमा स्थानीय जनताको स्वामित्व कायम गर्न हामीले एउटा ठूलो आन्दोलन सहित कानुनमा व्यवस्था गराएका छौँ । त्यसलाई यो वा त्यो रूपमा जनताको बीचमा आउन नदिने षडयन्त्रहरू पनि भइराखेका छन् । कानुन संशोधनका कुराहरू भइराखेका छन् । जनताको जलविद्युत माथिको लगानीलाई सुनिश्चित गर्नुपर्छ र सँगसँगै उनीहरूलाई मुनाफाको ग्यारेन्टी सहित सुनिश्चित गर्नुपर्छ ।
दोस्रो सम्भावना भनेको पर्यटन हो । रसुवाको सम्मृद्धिको लागि पर्यटन पवद्र्धन गर्न जरुरी छ । पर्यटनको तेस्रो गन्तव्य लाङटाङ यसलाई व्यवस्थित गर्न जरुरी छ । रसुवागढी नाका हुँदै हजाराँै मानसरोवर यात्रीहरू छन, त्यस्तै चिनियाँ हजारौँ पर्यटकहरू आउँछन उनीहरूलाई रसुवामा एक दिन राख्न सक्याँै भने रसुवामा पर्यटन निकै फष्टाउन सक्छ ।
रसुवाको माथिल्लो भेगमा चौरी, याक र भेडा पालनको सम्भावनाहरू छ र जडिबुटीको पनि सम्भावना रहेको छ । तल्लो भेगमा गाई, बाख्रा पालन र कृषिको सम्भावना रहेको छ । त्यसलाई सँगसँगै पर्यटनसँग जोडेर व्यवस्थित रूपमा विकास गर्ने हो भने अन्य जिल्लाभन्दा रसुवा जिल्लाको आम्दानी राम्रो हुन्छ । स्थानीय र प्रदेश सरकारले आफ्ना कार्यक्रमहरू यसतर्फ अगाडि बढाउने हो भने हामी सम्मुनत रसुवा निर्माण गर्न सक्छौँ । यस तर्फ स्थानीय तहको ध्यान जान जरुरी पनि छ ।

रसुवाका जनताका आधारभूत मौलिक हकहरू (शिक्षा, स्वास्थ्य) अझै प्रत्याभूति हुन सकेको छैन । यस सम्बन्धमा राजनीतिक दलहरूको भूमिका किन निर्णायक हुन सकिरहेको छैन ?
हिजो संक्रमणकालीन अवस्थामा राजनीतिक दलहरूको भूमिका मुख्य हुन्थ्यो । अहिले राजनीतिक दलभन्दा जनप्रतिनिधिको भूमिका मुख्य हुन्छ । राजनीतिक दलले जनप्रतिनिधिहरूलाई सचेत गराउनु पर्छ । त्यसो हुँदा नेकपाले जनताका आधारभूत आवश्यकता पुरा गर्न मुख्यतः शिक्षा, स्वास्थ्यका कुराहरू सहित रोजगारीका समस्याहरू हल गर्नका लागि हामी एकीकृत ढङगले प्लानिङ गर्छौँ । यहाँका मौलिक हकको प्रत्याभूतिका लागि निर्णायक काम पनि गर्ने छौँ ।

रसुवामा सञ्चालित जलविद्युत आयोजनाहरूले रसुवाली जनताको समग्र विकासमा कस्तो भूमिका निर्वाह गरेको पाउँनु भएको छ, के यो सन्तोषजनक छ ?
जलविद्युत आयोजनाहरूले आफ्नो इआईए प्रतिवेदनमा जनताका समस्याबारे काम गर्ने प्रतिबद्धता गरेका हुन्छन् । ती कामहरू पुरा गर्न कतिले आनाकानी गरिराखेको पाइन्छ । त्यस्तै सस्तो श्रमको उपयोग गर्ने, मजदुरहरूको उचित ज्याला नदिने समस्या पनि छ । यहाँका जनताका लागि त्यो हितमा छैन । पब्लिक कम्पनीले सेयर निष्कासन गर्ने एउटा मापदण्ड छ तर प्राईभेट कम्पनीले यसलाई कसरी समन्वय गर्ने भन्ने चाहि कानुनको अभाव छ । त्यसको हल हुन जरुरी छ । त्यो भए मात्र सन्तोषजनक हुन्छ । तत्कालीन अवस्थामा भन्दा त्यत्ति सन्तोषजनक मलाई लाग्दैन । अन्त्यमा म आम रसुवाली जनतालाई जनप्रतिनिधि चयनमा जनताको पक्षमा काम गर्ने नेतृत्व चयन गरौँ, जसले हाम्रो भविष्यको खाका कोर्न सक्छ । भन्न चाहन्छु । हामीले गलत ढङगले नेतृत्व चयन गर्दाको परिणाम रसुवालीले आगामि ५ वर्ष भोग्नु पर्नेछ । विकास र सम्मृद्धिको हाम्रो जुन सपना हो, त्यो सपना पुरा गर्न कम्युनिष्ट पार्टी अगाडि बढ्नुपर्ने अवस्था छ । त्यसकारण आगमी दिनमा सही के हो, गलत के हो छुट्याउन र नेकपा रसुवालाई साथ दिन सबै जनतालाई आग्रह गर्न चाहन्छु ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार