न्यौपानको पुस्तक ‘सङ्घर्षको इतिहास’ सार्वजनिक

काठमाडौँ । युवा राजनितिज्ञ तथा माक्र्सवादी लेखक लेखनाथ न्यौपानेले विश्व कम्युनिष्ट आन्दोलन र नेपाल कम्युनिष्ट आन्दोलनका विभिन्न पाटा—पक्ष समेटिएक पुस्तक ‘सङ्घर्षको इतिहास’ बजारमा ल्याएका छन् । पुस्तकको राजधानीमा आयोजित एक कार्यक्रमकाबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विमोचन गरेका हुन् ।

तत्कालीन नेकपा (माओवादी)ले शुरु गरेको दशवर्षे जनयुद्धको समयका प्रमुख घटना विवरणलाई पुस्तकमा बुँदागत रुपमा समेटिएको पुस्तकमा जनयुद्धको परिकल्पना, उठान र विकास तथा वैठानका विषयवस्तु वैचारिक, योजनागत र फौजी हमलाका घटनाहरु लिपिबद्ध गरिएको छ ।

पुस्तक विमोचन गर्दै नेकपाका अध्यक्ष प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनको गौरवपूर्ण इतिहास बुझ्न पुस्तकले सहयोग गर्ने बताए । लेखक न्यौपाने स्वयंले आदर्शको जीवन बिताएको भन्दै उनले नयाँ पुस्तालाई आदर्शवान बनाउन पुस्तकले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

लेखक न्यौपानेले युद्धकालमा भूमिगत कार्यकर्तालाई लक्षित गरेर प्रकाशन गरिएको ‘अखिल ज्ञान’ नामको पुस्तक अत्यधिकरुपमा रुचाइएको र अर्को भाग प्रकाशन गर्न आग्रह भएपछि पुस्तक प्रकाशन गरिएको बताए ।

उनले पसिना बगाएर राम्रो हुने र पसिना नबगाई राम्रो खोज्ने पङ्कितबीच सङ्घर्षमा केन्द्रित रहेर सङ्घर्षको इतिहास सार्वजनिक भएको बताए । राजनीतिक आन्दोलनमा लाग्ने आधारभूत र मध्ययम तहका कार्यकर्ताका लागि लक्षित गरेर पुस्तक तयार गरिएको उनको भनाइ छ ।

न्यौपानेको यो दशौँ कृति हो । यसअघि उनका ‘प्रतिबन्धित कलम’, ‘शैक्षिक हड्ताल’, अखिल ज्ञान’, ‘तिमी अमर भयौ’, ‘शिक्षा र राजनीति’, ‘चिठ्ठीमा जनयुद्ध’, ‘विद्यार्थी आन्दोलनमा बाइस वर्ष’, ‘शिक्षामा पुनसंरचनाको बहस’ र ‘कोमामा कोरस’ पुस्तक प्रकाशित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार