विर्ता र सुकुमबासी समस्या छिट्टै समाधान गर्ने प्रतिवद्धता

रसुवा । रसुवाका किसानहरुले भूमि सम्बन्धि समस्या समाधान गर्न सरकारसमक्ष माग गरेका छन् ।  जिल्लाको कालिका गाउँपालिका क्षेत्रका किसानहरुले बुधबार कृषि औजारसहित जुलुस र र्याली गरी गाउँपालिकामा विभिन्न मागसहितको ज्ञापन पत्र पेश गरेका हुन् ।

गाउँपालिका क्षेत्रभित्र रहेको बिर्ता र सुकुम्वासी समस्या समाधानको लागि जिल्ला भूमि अधिकार मञ्च र कालिका गाउँपालिका स्तरीय भूमि अधिकार मञ्चको संयुक्त पहलमा ज्ञापनपत्र पेश गरिएको हो । कृषि औजारसहित नाराजुलुसमा सहभागी भएका किसानहरुले कालिकास्थान बजारक्षेत्र परिक्रमा गरी गाउँपालिकाका अध्यक्ष सीताकुमारी पौडेल अधिकारीलाइ ज्ञापनपत्र बुझाएका थिए ।

मागपत्रमा नेपालमा कानुनी हिसावले बिर्ता प्रथा उन्मूलन गरिएको ६० वर्ष लागेपनि अझै समस्या समाधान नभएको भन्दै बिर्ता जग्गासम्बन्धी  समस्या अझै पनि झेलिरहनु परेको उल्लेख गरिएको छ । जिल्ला भूमि अधिकार मञ्चका अध्यक्ष टंकलबहादुर नगरकोटी र कालिका गाउँपालिकास्तरीय भूमि अधिकार मञ्चका अध्यक्ष खिलप्रसाद आचार्यले पेश गरेको ज्ञापनपत्रमा साविकको धैबुङ, भोर्ले र लहरेपौवा गाविसका ७ सय १८ परिवारले जोतभोग गरेका करिव १,४६९ रोपनी जमिन बिर्ता अन्तर्गत र अधिकांश बिर्ता पीडित किसानहरू कालिका गाउँपालिका रहेको भन्दै तत्काल समाधान खोज्न माग गरिएको छ ।

भूमि अधिकार मञ्चले गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिले चुनावका बेला भूमिसम्बन्धि सबै समस्या समधान गर्ने प्रतिवद्दता गरेको भएपनि हालसम्म भूमिसम्बन्धि कुनै पनि समस्या समाधानको प्रक्रिया थालनी नगरेपछि उनीहरूको ध्यानकर्षण गराउँदै यथासक्य समस्या समाधान गर्न माग राखेको जनाएको छ । यस्तै पछिल्लो समयमा बिर्ता जग्गा आफ्नो बनाउन र केही व्यक्तिहरूले खरिद गरी नयाँ जग्गाधनीहरू बन्ने जस्ता क्रियाकलाप हुन थालेकाले यस्तो समस्या समाधान गर्नको लागि पालिका तहबाट पहल गरिनुपर्ने माग राखिएको छ ।

ज्ञापन पत्र बुझ्दै गाउँपालिका अध्यक्ष सीताकुमारी पौडेल अधिकारी र उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले आफूहरूले चुनावमा गरेको बाचाअनुसार भूमिसम्बन्धी सबै समस्या समाधान गरिने प्रतिवद्धता व्यक्त गरे । गाउँपालिकाले प्रदेश सरकारसँग समन्वय गरी उपयुक्त कानुन बनाई आफ्नो पालिका क्षेत्रभित्र रहेको भूमिसम्बन्धि मुख्य समस्याहरू बिर्ता र सुकुमवासी सवाल टुङ्गो लगाउने उनीहरुले प्रतिवद्धता जनाए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार