रसुवाका भूमिहीनको प्रधानमन्त्रीलाई ज्ञापनपत्र

रसुवा । जिल्लाका भूमिहीनले जिल्लामा रहेको भूमिसम्वन्धी समस्या तत्काल समाधान गर्न माग गरेका छन् । जिल्ला भूमि अधिकार मञ्च, रसुवाले भूमिसम्वन्धी समस्या समाधान गर्न बुधबार प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलमार्फत प्रधानमन्त्री र तीन नम्बर प्रदेशका मुख्यमन्त्रीलाइ ज्ञापनपत्र पठाएको हो ।

मञ्चको नेतृत्वमा सदरमुकाम धुन्चे पुगेका जिल्लाभरका भूमिहीन किसानहरुले प्रमुख जिल्ला अधिकारी पौडेललाई भूमिसम्वान्धी समस्या र समग्र भूमि सुधारको मुद्दाहरू समेटिएको ११ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पौडेलले भूमि अधिकार मञ्चले उठाएको माग सम्बोधनको लागि आफूले सक्दो पहल गर्ने जानकारी दिए । माग सम्बोधन गर्न आफुले सक्दो प्रयास गर्ने भन्दै प्रजिल पौडेलले  जिल्ला तहमा गर्न सकिने काम सम्बन्धित कार्यालयहरूलाई पत्र लेखी तत्काल समाधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । यस्तै उनले भूमिसुधार मन्त्रालय र गुठी संस्थामा पनि आवश्यक समन्वय गरि बिर्ता र गुठी समस्या समाधानका लागि समेत पलह गर्ने प्रतिवद्धता जनाए ।

ज्ञापनपत्र बुझाउदै मञ्चका अध्यक्ष टंकलबहादुर नगरकोटीले भूमिसम्वन्धी मुद्धा रसुवाका किसानको मात्र नभई सिंगो मुलुकको समस्या भएकाले सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । ‘जिल्लामा रहेका भूमि समस्या समाधानका लागि लामो समयदेखि संघर्ष गरिरहेका छौं,’ उनले भने, ‘तर अहिलेसम्म निकास पाउन सकेको छैन ।’

रसुवामा लामो समयदेखि बिर्ता, गुठीको समस्या यथावत छ । ७ सय १८ भन्दा बढी किसान बिर्ता पीडित छन् । ५ सय भन्दा बढी  किसान गुठी पीडित छन् । १ हजारभन्दा बढी परिवार भूकम्पको कारण विस्थापनमा परेका छन् । २ सय ४५ भन्दा बढी परिवार भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासको रुपमा छन् । वर्षाैदेखि जोतभोग गर्दै आएको जग्गा आफ्नो नाममा नहुँदा विभिन्न खाले समस्या भोगिरहनु परेकाले किसानहरू निरन्तर आन्दोलनमा छन् ।

लामो समयदेखि आन्दोलन गरिरहेको भए पनि माग सुनुवाई नभएकोप्रति पिडित किसानहरुले आक्रोश व्यक्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार