माओवादी फेरी जन्मिन सक्छ : प्रचण्ड

काठमाडौँ । पुर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौताको प्रतिज्ञा र संविधानको मर्म अनुसार चल्न नसके माओवादी आन्दोलन फेरी जन्मिने चेतावनी दिएका छन् । उत्पीडित बर्गका जनतालाई राज्य संचालनमा समुचित सहभागिता गराउने परिकल्पना अनुरुप शान्ति सम्झौता भएको स्मरण गराउदै उनले अहिलेको प्रक्रिया त्यसैको प्रतिफल भएको बताए ।

पुर्वमहान्याधिवक्ता मुक्ति नारायण प्रधानद्वारा लिखित ‘न्यायिक समिति: कार्यविधि र प्रक्रिया’ पुस्तकको शुक्रवार राजधानीमा विमोचन गर्दै अध्यक्ष प्रचण्डले संविधानलाई आत्मसात गर्दै सोहि अनुसारको ऐन निर्माण र कार्यान्वयनप्रति केहि शक्तिहरुले इमान्दारिता देखाउन नसकेको भन्दै असन्तुष्टि प्रकट गरे ।

सुशासन र समृद्धिका लागि शान्ति सम्झौताको इमान्दार कार्यान्वयन हुनु पर्नेमा जोड दिंदै प्रचण्डले त्यसो हुन् नसके मुलुक नै अप्ठेरोमा पर्ने चिन्ता व्यक्त गरे । उनले भने, ‘कसैलाई माओवादी सक्याइयो भन्ने लाग्छ भने त्यो भ्रम हो, शान्ति सम्झौताको मर्म अनुसार संविधान कार्यान्वयनको दिशामा मुलुकलाई लैजान नसके फेरी माओवादी जन्मन्छ । तर, मलाई विश्वास छ शान्ति, समृद्धि र सुशासनका लागि सबै सहमत हुनेछन् ।’

‘अहिलेको समग्र राजनैतिक प्रक्रियाको जग तत्कालिन मावोवादी र सात राजनीतिक दलबीच भएको सहमति नै हो, त्यसैले शान्ति प्रक्रियाको इमान्दार कार्यान्वयनले मात्रै सुशासन र समृद्धिको यात्रा अगाडी बढाउँ सकिन्छ,’ उनले भने ।

अध्यक्ष प्रचण्डले लोकतन्त्रको प्रतिफललाइ जनताको घरसम्म पुर्याउने परिकल्पना संविधानले गरेको भए पनि त्यस अनुरुप काम हुन् नसक्नु दुखद कुरा भएको बताए ।

कतिपय शक्तिहरु पुरानै संरचनालाई बलियो बनाउन लागेको भन्दै प्रचण्डले त्यसतर्फ सबै सचेत हुने बेला आइसकेको जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार