
ब्राजिलको ‘क्लब फ्लामेङ्गो’ फुटबल क्लबका १० खेलाडीको आगलागीमा परि मृत्यु भएको छ । शुक्रबार क्लबको कार्यालयमा आगलागी भएपछि आगोमा जलेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।
मृत्यु भएकामा १४ देखि १७ उमेर समूहका खेलाडी रहेका छन् । उनीहरू क्लबमा खेलको अभ्यास गरिरहेका बेला आगलागी भएको स्थानीय सञ्चार माध्यमले जनाएको छ । रियोको भर्गेम ग्राण्ड जिल्लामा रहेको अत्याधुनिक प्रशिक्षण स्थलमा स्थानीय समयानुसार बिहान ५ बजे आगलागी भएको थियो ।