दुई वर्षको एकमुष्ट तलब बुझ्दै क्रिकेट खेलाडी, कसको कति ?

काठमाडौँ । नेपाली क्रिकेट खेलाडीहरुले दुई वर्षदेखि रोकिएको मासिक तलव पाउने भएका छन् । सन् २०१६ देखि नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेपछि खेलाडीहरुको तलब रोकिएको थियो ।

क्यान निलम्बनमा परेपछि प्रत्यक्ष रुपमा नेपाली क्रिकेटको रेखदेख गर्दै आएको अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले शनिवार तलब निकासा गरेसंगै खेलाडीहरुले रोकिएको तलब पाउने भएका हुन ।

तलब बापतको रकम आईसीसीले शनिबार राखेपको खाता रहेको स्टाण्डर्ड चार्टड बैंकमा एकमुष्ट १ करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ पठाएको हो ।

तलब वितरणका लागि प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्कालगायतको सल्लाहमा खेलाडीको नयाँ वर्गीकरण गरेर आईसीसीमा पठाएको थियो । जसमा ए, बी र सी गरी तीन श्रेणीमा सात सात गरी २१ खेलाडी समावेश छन् ।

ए श्रेणीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी छन् ।

बी श्रेणीमा आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार शाह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी र शक्ति गौचन छन् ।

सी श्रेणीमा सुवास खकुरेल, सागर पुन, दिलिपनाथ, सुनील धमला, सुशन भारी, किशोर महतो र विनोद भण्डारी रहेका छन् ।

‘ए’ श्रेणीका खेलाडीले मासिक ३५ हजार रुपैयाँ, ‘बी’ श्रेणीका खेलाडीले मासिक २५ हजार रुपैयाँ र सी श्रेणीका खेलाडीले मासिक १५ हजार रुपैयाँका दरले पछिल्लो दुई वर्षको एकमुष्ट तलब पाउनेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार