पर्यटक भित्र्याउन महायज्ञ

काठमाडौँ । दाङमा अवस्थित पाण्डवेश्वर महादेव धामको प्रवर्द्धनका लागि महायज्ञ आयोजना गरिने भएको छ । वार्षिक १० लाख धार्मिक पर्यटक भित्र्याउने उद्धेश्यका साथ महायज्ञ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

धामको प्रवद्धन तथा भौतिक विकासको लागि आगामी फाल्गुन ११ देखि फाल्गुन १८ सम्म महायज्ञको आयोजना गरिने भएको हो । पाण्डवेश्वर महादेव मन्दिर परिसरमा श्रीमद् भागवत ज्ञान महायज्ञ तथा विराट आध्यात्मिक पर्या–पर्यटकीय केन्द्र स्थापनार्थ कार्यक्रम आयोजना गरिएको मूल आयोजक समितिका महासचिव विष्णुराम आचार्यले बताए ।

सबै धार्मिक आस्थावानहरुको गन्तव्य बन्दै गैरहेको धामको अध्ययन अवलोकनका लागि दैनिक हजार हाराहारीमा मानिसहरु धारापानी पुग्ने गरेका छन् ।

धार्मिक महत्व तथा प्राकृतिक सौन्दर्यताले सजिएको धाम क्षेत्र पर्यटनका सबै आयामले अब्बल भएको पर्यटन विज्ञहरुको प्रतिक्रृया छ । शिव धाम भएकोले महाशिवरात्रीमा साविकको मध्यपश्चिमकै ठूलो संख्यामा भक्तजनहरु पुग्ने गर्दछन् ।

धामको प्रवर्द्धन गर्न समितिले इच्छुक दानवीरहरुको विवरण समेत www.pmdham.comमा जानकारी पाउन सकिने महासचिव आचार्यले जानकारी दिए ।

धामको प्रवर्द्धनमा सरकारको विशेष प्राथमिकता

यसैबीच धामको प्रवर्द्धनमा सरकारको विशेष प्राथमिकता रहेको पर्यटन मन्त्री रवीन्द्र अधिकारीले प्रतिवद्धता जनाएका छन् । पाण्डवेश्वर धाम जस्ता धार्मिक आस्थाको धरोहरुको प्रवर्द्धन गरि आन्तरिक तथा बाह्रय पर्यटक पुर्याउन धामको विकासमा लाग्ने मन्त्री अधिकारीले बताए ।

पर्यटन प्रवर्द्धनमा स्थानीयको जागरुकताले धारापानी एक नमुना भएको चर्चा गर्दै मन्त्री अधिकारीले सरकारको सबैखाले साथ र सहयोग रहने प्रवितवद्धता व्यक्त गरे । पाण्डवेश्वर महादेव धाम मुल आयोजक समितिका प्रतिनिधिसंग शनिबार भेटघाट गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा मन्त्री अधिकारीले स्थानीय दानवीरहरुको दानबाट धार्मिक पर्यटन प्रवर्द्धनमा उल्लेख्य प्रगाति भएकोमा खुशी व्यक्त गर्दै पूर्वाधार निर्माणमा सरकारले थप मद्दत गर्ने आश्वासन दिए । पर्यटन क्षेत्रमा सबैको साथ र हात रहन सके कायापलट गर्न सकिने दावी गर्दै उनले पर्यटन प्रवर्द्धनमा स्थानीय, प्रदेश, केन्द्र सरकार र स्थानीयको उत्तिकै महत्वपूर्ण भूमिका रहने बताए ।

मूल आयोजक समितिका महासचिव आचार्यको संयोजनमा गएको टोलीले राष्ट्रिय सभा सदस्य कोमल वलीलाई समेत भेट गरेको छ । राष्ट्रिय सभा सदस्य वलीले धार्मिक आस्थाको केन्द्र धामको भौतिक तथा प्रवर्द्धनात्मक कार्यमा आफूहरुको सधै साथ रहने प्रतिवद्धता व्यक्त गर्दै महायज्ञलाई पूर्ण सफल बनाउन सबैले साथ सहयोग गर्नुपर्ने बताइन् । महायज्ञको सफलता भनेको नै दाङको विकासको नयाँ आयामको शुरु हुने उनको भनाई छ ।

त्यसैगरी प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले दाङको पर्यटन विकासका लागि सबै तह र तप्काले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । जनप्रतिनिधिको हैसियतले पूर्वाधार लगायत प्रवर्द्धन र प्रचार प्रसारको लागि सरकारलाई घच्घच्याउने प्रतिवद्धता व्यक्त गरे ।

महायज्ञलाइ सफल बनाउन आचार्यको नेतृत्वमा, उपाध्यक्ष, शंकर गौतम, पर्यटन पत्रकार महासंघका केन्द्रीय अध्यक्ष धनिराम शर्मा (ऋतुविचार)ले पर्यटन मन्त्री, राष्ट्रिय सभा सदस्य, प्रतिनिधि सभा सदस्य लगायतका व्यक्तित्वसंग भेटघाट गरेको हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार