टी-२० क्रिकेटको अन्तर्राष्ट्रिय वरियतामा कप्तान खड्का र सोमपाल कामीको छलाङ

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने अलराउन्डरहरूको वरीयताक्रममा  ४०औँ स्थानमा उक्लिएका छन् । यो संगै खड्का क्रिकेटको कुनै पनि वरियताक्रममा शीर्षस्थ ४० भित्र पर्ने पहिलो नेपाली खेलाडी समेत बन्न सफल भए ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सोमवार प्रकाशित गरेको टी-२० अन्तर्राष्ट्रिय टोली र खेलाडीहरूको नयाँ वरीयतामा खड्कासंगै सोमपाल कामीले पनि उत्कृष्ट सुधार गरेका छन् । सोमपालले एकैपटक २२ स्थान सुधार गर्दै बलरहरूमध्ये ७० औँ स्थानमा पुगेका छन् । कामी अलराउन्डरहरूको सूचीमा समेत ५१‌ औँ स्थानमा छन् ।

यूएईविरुद्धको टी-२० शृङ्खलामा २-१ ले विजयी भएपछि खड्काको वरीयतामा सुधार आएको हो । खड्का ७६ रेटिङ अङ्कका साथ्  अहिलेसम्मकै माथिल्लो रेटिङमा पुगेका हुन् । ब्याट्सम्यानहरूको वरीयतामा पनि खड्काले पाँच स्थान सुधार गरेका छन् । यसअघी ९५ औं स्थानमा रहेका खड्का ९० औँ स्थानमा उक्लिएका छन् ।

बलिङमा वसन्त रेग्मी ७० औं स्थानमा रहँदा सन्दीप लामिछानेले पनि ३६ स्थान माथि उक्लदै १५९ औँ स्थानमा आइपुगेका छन् ।

नेपाल वरियताको १४औँ स्थानमा

यूएईसँग शृङ्खला जितेपछि नेपाल टी-२० अन्तर्राष्ट्रिय वरीयतामा १४ औँ स्थानमा उक्लेको छ । कूल १८ देश रहेको वरीयताक्रममा नेपाल यूएईभन्दा एकस्थान माथि छ । दुवैको समान ४३ अङ्क भए पनि नेपाल थोरै फरकले माथि रहेको आइसीसीले जनाएको छ ।

नेपालले यूएईसँग दुबईमा तीन एकदिवसीय र तीन टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थियो । दुवै शृङ्खलामा नेपाल २-१ ले विजयी भएको थियो । वरीयताक्रममा नेपालभन्दा तल यूएई, हङकङ, ओमान र आयरल्यान्ड रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार