प्रधानमन्त्री रोजगार कार्यक्रम : यी हुन् कार्यक्रममा समावेश हुने मापदण्ड

काठमाडौं । सरकारले फागुन १ गतेदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन गर्न लागेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यक्रममार्फत बेरोजगार युवाका लागि रोजगार र निर्वाह भत्ता दिने तयारि गरेको हो ।

वार्षिक सय दिन पनि रोजगारी नपाउने नागरिकलाई न्यूनतम १०० दिने रोजगारको कार्यक्रम नसके निर्वाह भत्ताको कार्यक्रम अघि बढाएको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताए । मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहहरुमा नियुक्त गर्न लागेको रोजगार संयोजकका लागि २ हजार २ सय ५९ जना सर्टलिष्ट समेत तयार गरेको छ ।

अहिले गरिएको व्यवस्थाअनुसार वार्षिक रूपमा ५१ हजार ७०० रुपैयाँ बराबरको रोजगारी नहुने नागरिक प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश हुन सक्नेछन् ।

सरकारले वार्षिक न्यूनतम आय पनि तोक्ने तयारी गरेको छ। निर्वाह भत्ताका लागि श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत तीन अर्ब १० करोड रुपैयाँ बजेट छुट्याइसकेको छ । तर, यो रकमबाट रोजगार संयोजकको लागि तलब सुविधा तथा संरचना निर्माणमा पनि खर्च गरिने श्रममन्त्री विष्टले बताए ।

वार्षिक ५१ हजार ७०० सयको रोजगारी नहुने वा सरकारले तोक्ने आय बराबरको रकम नकमाउने नागरिकले प्रधानमन्त्री रोजगारी कार्यक्रममा सहभागी हुन् सक्नेछन् । तर, सरकारले रोजगारी दिन नसक्नेलाई भने वार्षिक औसत २६ हजार निर्वाह भत्ता दिनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार