‘दलाल पूँजीवादले हामीलाई खाने या हामी कम्युनिस्ट बन्ने ?’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता लेखनाथ न्यौपानेले नेपाली कम्युनिस्ट आन्दोलनलाई सफल बनाउनुको विकल्प नरहेको बताएका छन् । नेता न्यौपानेले कम्युनिस्ट आन्दोलनलाई कता लैजाने भन्ने कुरा नेकपा नेतृत्वको सरकारले गर्ने काममा भर पर्ने समेत बताए ।

जनयुद्ध दिवसको अवसरमा नेकपाको विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) र अनेरास्ववियु आरआर क्याम्पसले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाइ सम्बोधन गर्दै अनेरास्ववियू (क्रान्तिकारी)का पूर्व अध्यक्ष समेत रहेका नेता न्यौपानेले सो कुरा बताएका हुन् ।

दलाल पूँजीवादले नेकपालाई खाने या दलाल पूँजीवादलाई उत्पादनशील पूँजीवादमा बललेर हामी कम्युनिस्ट बन्ने भन्ने बिषय आज अहम् प्रश्न बनेर आएको भन्दै न्यौपानेले यसको फैसला नेकपाले लिने बिचार, नीति, कार्यक्रम र व्यवहारले गर्ने जानकारी दिए । नेपालको कम्युनिस्ट  आन्दोलनको भविष्य सरकारले गर्ने काममा समेत भर पर्ने भन्दै उनले सरकारले जनपक्षीय काम गर्न नसके नेपाली राजनीतिमा पुन: दलाल पूँजीवादी शक्ति हावी हुने र कम्युनिस्ट पार्टी पराजित हुने ठोकुवा गरे । उनले भने, ‘नेपालको कम्युनिस्ट आन्दोलनको भविष्य सरकारले गर्ने कामसँग जोडिएको छ, हामीले जित्ने या हार्ने भन्ने कुरा हाम्रै व्यावहारमा भर पर्छ।’

कम्युनिस्ट आन्दोलनलाई सफल बनाउन नेकपा बाहेकका पार्टीले नसक्ने दावी गर्दै न्यौपानेले सरकारले गर्ने कामलाई सामान्य रुपमा मात्र बुझ्न नहुनेमा जोड दिए । सरकारको उग्र विरोध या उग्र समर्थन दुवै घातक हुनसक्ने तर्फ सचेत गराउदै उनले सरकारले गर्ने कामलाई कम्युनिस्ट आदर्श र मुल्यसंग जोडेर बहस गर्न यूवा विद्यार्थीलाइ आव्हान गरे ।

जनयुद्धले उत्पीडित वर्ग, समुदायका जनताको पक्षमा आवाज उठाएको भन्दै न्यौपानेले यसको ऐतिहासिक महत्वलाई कसैले मेट्न नसक्ने बताए । इतिहासलाई गौरवशाली बनाइराख्न आज र जीवनभरी गौरवशाली काम गर्नुपर्नेमा उनले जोड दिए ।

सो अवसरमा नेता न्यौपानेले आरआर परिसरमा निर्मित ‘महान जनयुद्ध, जनआन्दोलन जिन्दावाद’ लेखिएको तस्विरसहितको कलात्मक चित्र अनावरण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार