सिडियोले पत्रकारलाई गरेको दुर्व्यवहारप्रति प्रेस सेन्टरको आपत्ति

नुवाकोट । नेपाल पत्रकार महासंघ नुवाकोटकी उपाध्यक्ष रुपा अर्याललाई नुवाकोटका प्रमुख जिल्ला अधिकारीले समाचार संकलनमा गरेको हस्तक्षेपप्रति प्रेस सेन्टर नुवाकोटले आपत्ती जनाएको छ । मंगलवार समाचार संकलनका लागि जिल्ला प्रशासन कार्यालय पुगेकी पत्रकार अर्याललाई प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले  गरेको दुर्व्यावहारको भर्त्सना गर्दै प्रेस सेन्टर नुवाकोटले विज्ञप्ती जारि गर्दै विरोध जनाएको हो ।

प्रेस सेन्टर नेपाल नुवाकोटकी सह-सचिव र मिक्स एफएमका स्टेशन म्यानेजरसमेत रहेकी अर्याललाई सिडियो थापाले अनुमतिबिना फोटो खिच्न र समाचार संकलन गर्न नपाइने भन्दै हस्तक्षेप गर्नुका साथै मोबाइल तथा क्यामेरा खोसेर फुटाउने प्रयास समेत गरेका थिए । यसका साथै थापाले विगतमा आफू पनि पत्रकार रहेको, प्रेस काउन्सिलमा जागिरे भएको भन्दै मुद्धा चलाइदिने धम्की दिएका थिए भने कार्यकक्षमा प्रहरी बोलाएर धरपकड गर्ने शैलिमा पक्राउ गर्न खोज्नुका साथै बाहिर निकालेर अमानविय व्यवहार गरेका थिए ।

प्रेस सेन्टर नुवाकोटका अध्यक्ष रामहरि गजुरेलद्वारा हस्ताक्षेरीत प्रेस विज्ञप्तीमा आम नागरिकका साथै पत्रकारहरुको सुरक्षाको प्रत्याभुति दिलाउनुपर्ने, संरक्षण र बढ्दो असुरक्षा चुनौतिकाबीच सञ्चार कर्ममा क्रियाशील सञ्चारकर्मीहरुको सुरक्षा गर्नुपर्ने जिम्मेवारी बोकेर बसेका राज्यका निकाय र तिनका प्रमुख एवं प्रशासक नै पत्रकारहरुमाथी हस्तक्षेपमा उत्रनु गम्भिर चिन्ताको विषय बनेको उल्लेख छ ।

सार्वजनिक चासो र नागरिक सरोकारका विषयलाई सञ्चार माध्याममा प्रकाशन, प्रशारण र रिपोर्टिङ गर्न पाउने अधिकारलाई राज्यको प्रचलित कानून र संविधानले त अंकुश लगाउन सक्दैन भने, कार्यान्वयनको जिम्मेवारीमा रहेका कर्मचारीबाटै गरिने यस्ता दुश्प्रयास कानूनी अधिकारकै खिलाफमा रहेको प्रेस सेन्टरको दाबी छ । ‘पत्रकार अर्याल र अरु पत्रकारहरुको व्यक्तिगत विषय मात्रै नभएर यो सिंगो स्वतन्त्र पत्रकारिता क्षेत्रमाथीकै हस्तक्षेप हो भन्ने हाम्रो निश्कर्ष छ । आफ्नो जिम्मेवारी एवं पदिय विशिष्ट संवेदनशीलतालाई भुलेर भविष्यमा यस्तो व्यवहार नदोहोर्याउन सिडियो थापालाई सचेत गराउन चाहान्छौँ’, विज्ञप्तीमा भनिएको छ ।

पत्रकारिता सम्बन्धि नयाँ मुलुकी ऐनको अपब्याख्या गर्दै सिडियो थापाले सार्वजनिक स्थलमा हुने गतिविधिहरुको रिपोर्टिङ र सूचना पाउने कानूनी अधिकारलाईसमेत संकुचित, कुण्ठित गर्ने काम गरेको सेन्टरको ठहर छ । आफ्नो जिम्मेवारी एवं पदिय विशिष्ट संवेदनशीलतालाई भुलेर भविष्यमा यस्तो व्यवहार नदोहोर्याउन सिडियो थापालाई सचेत गराइएको छ । सरकार र सम्बन्धित निकायसँग पत्रकार अर्यालको सुरक्षाको जोडदार माग गर्दै प्रेस सेन्टरले यस घटनाको छानबिन गरी दोशी प्रमुख जिल्ला अधिकारी (सिडियो) थापालाई कारबाहीको मागसमेत गरेको छ ।

माघ २९ गते दिउँसो २:३० बजेको समयमा माथिल्लो त्रिशुली ‘थ्री ए’ जलविद्युत आयोजना प्रशारण लाइन विस्तारको क्रममा प्रभावित क्षेत्रका मुआब्जाबाट बञ्चित प्रभावितहरु प्रशासन कार्यालयमा सूचना माग्न आउँदा सिडियो थापाले थर्काएका थिए । जसका कारण प्रभावित नागरिकले पत्रकारहरुलाई सहयोगका लागि अनुरोध गरेपछि उपाध्यक्ष अर्याल समाचार संकलनका लागि त्यहाँ पुगेकी थिइन् । सोही क्रममा सूचना नदिएको उक्त विषयलाई लिएर लिएर सिडियो थापासँग उनकै कार्यकक्षमा वास्तविक जानकारी लिन खोज्दा यस्तो दुव्र्यबहार गरेका थिए ।

सिडियो थापाले भने आफूले पत्रकार भन्ने नचिनेका कारण यस्तो हुन पुगेको प्रतिक्रिया दिएका छन् । यस घटनाको विरोध गर्दै यसअघि नै नेपाल पत्रकार महासंघ ३ नं. प्रदेश र महासंघ नुवाकोट शाखाले विज्ञप्ती जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार