आवास प्राप्तिलाई मात्र पुन:स्थापित भएको मान्न सकिंदैन : कार्यकारी अधिकृत ज्ञवली

काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट विस्तापितहरुका लागि बस्ती स्थानान्तरण गर्दा उनीहरुको जीवनयापनको पक्षलाइ बिशेष ध्यान दिइने बताएका छन् ।

भूकम्पका कारण विस्थापित भएका रसुवाका भूकम्प प्रभावितहरुसंग आफ्नै कार्यकक्षमा कुराकानी गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले आवास प्राप्तिलाई मात्र पुन:स्थापित भएको मान्न नहुने भन्दै बस्ती स्थानान्तरण गर्दा जीवनयापनको पक्षलाइ बिशेष ध्यान दिनुपर्ने बताए ।

उनले प्राविधिक हिसावले जोखिम नदेखिएमा पुरानै ठाउँमा फर्किन प्रोत्साहित गर्नुपर्ने भन्दै सहज नहुनेहरूका लागि भने नयाँ बस्ती खोजेर तत्काल पुन:स्थापना गरिने बताए । स्थानान्तरणका लागि घडेरी भएर मात्र नपुग्ने भन्दै उनले अन्य पूर्वाधार समेत तयार पार्नु पर्ने बताए । जग्गा खरिद गर्दा बिधि, पद्धति र कानुनी प्रक्रिया मिलाउन पर्ने भएकाले बस्ती स्थानान्तरणमा केहि ढिला भएको स्वीकार गरे ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जग्गा खरिदका लागि विशिष्ट निर्णय आवश्यक परे निर्णय गरेर तत्काल पुननिर्माणको काम सम्पन्न गर्न प्राधिकरण प्रतिवद्ध रहेको समेत जानकारी दिए ।

भूकम्प गएको तीन वर्ष  बितिसक्दा पनि जिल्लाको उत्तरगया गाउँपालिकाका हाकु, डाँडागाउँ र ठुलोगाउँबाट विस्थापित भएका भूकम्प पिडितहरु अझै अस्थायी टहरामा जीवन बिताइरहेका छन् । भूकम्पले गर्दा थातथलोमा पहिरो गएपछि आफ्नो पुर्ख्यौली ठाउँ छाडेर विस्थापित भएका पीडितहरू जिल्लाका खाल्टे बगर लगायतका स्थानमा अस्थायी टहरा हालेर बसिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार