कोदालोले खनेरै गाउँमा मोटरबाटो पुर्याइयो

रोल्पा । सरकारले करोडभन्दा कमका योजनामा डोजर लगाउन नपाइने निर्णय गरेको छ । यो निर्णयअघि नै रोल्पा हाङवाङ, गोलवाङ र गुन्थालवासीले आफैंले खनेर गाउँमा मोटरबाटो पुर्‍याएका छन् ।

गाउँलेको पहलमा गाउँमा मोटरबाटो मात्रै पुगेन, स्थानीयले राम्रो ज्यालासमेत पाए । रोल्पा नगरपालिका–९ हाङबाङ, गोलबाङ र गुन्थालवासीले कोदालोले खनेर गाउँमा सडक पुर्‍याएका हुन् । कुटो, कोदालो, साबेल र बेल्चाले पहाडको भित्ता खनेर गाउँमा बाटो पुर्‍याएपछि गाउँले दंग परेका छन् ।

सदरमुकाम लिबाङ–ह्वामा लिउन सडकखण्डको चंकुपासाबाट गाउँलेले सडक खनेका हुन् । सडक खनेबापत ज्याला पाएपछि उनीहरूमा झन् उत्साह थपिएको छ । घरेलु हतियार प्रयोग गरी खनेरै गाउँलेले ३ किलोमिटर ७ सय मिटर सडक निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष कमल बुढामगरले जानकारी दिए ।

जहाँतहीँ डोजरले सडक खनिरहेका बेला यहाँका बासिन्दा भने बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सडक खन्न व्यस्त हुन्थे । ‘गाउँमा सडक ल्याउन बच्चा बोकेरै खनियो’, हाङबाङकी २५ वर्षीया राधा बुढाले भनिन्, ‘गाउँको विकास पनि हुने, ज्याला पनि पाइने भएपछि सबै गाउँलेले हौसिँदै सडक खनेका हौं । ’ गाउँका प्रायः सबै जना दिनहुँ सडक खन्न आएका थिए ।

६१ वर्षीया बागमती घर्तीमगर पनि सडक खन्न गइन् । घर र गाईवस्तुको हेरचाह गर्न पतिलाई जिम्मा दिएर पहाड खन्न गएको उनले सुनाइन् । सडक खनेको पैसाले घरव्यवहार चलाउन सजिलो भएको उनले बताइन् । ‘छोराछोरीको कापी, कलम र ड्रेस किन्न सहज भयो’, उनले भनिन् ।

सडक खनेर पाएको ज्यालाको सदुपयोग गरेकामा दंग पर्दै ४० वर्षीय संगीता बुढामगर भन्छिन्, ‘बचेको पैसाले ३ वटा बाख्रा किनेर पालेकी छु ।’ १ सय ३ घरधुरी रहेको हाङबाङ, गोलबाङ र गुनथालवासीले ५० हजारदेखि १ लाखसम्म कमाए । सडक निर्माण उपभोक्ता समितिले प्रत्येक घरबाट एक जना अनिवार्य हुनुपर्ने उर्दी लगाएको थियो । घरको ढिँडो सिस्नो खाएर ज्यालामा सडक खन्न पाएपछि कतिपय घरबाट ३र४ जनासमेत आए । गाउँलेले यो सडक खण्डको नाम ‘रिस्बाङ–हाङबाङ–उपल्लो सहिद मोटर बाटो’ राखेका छन् ।

गाउँमा सडक लैजान ग्रामीण सामुदायिक पूर्वाधार विकास कार्यक्रम (आरसीआईडब्लू) र रोल्पा नगरपालिकाले सघाएका छन् । आरसीआईडब्लूले सडक खन्नका लागि ६७ लाख ३० हजार ६ सय ३९ खर्चिएको छ । नगरपालिकाले चालु वर्षमा २० लाख सहयोग गरेको छ । ‘पर्यावरणीय सुरक्षाका लागि खनेरै सडक निर्माणको योजनाअन्तर्गत गाउँले सडक खन्न तयार भएपछि योजना अघि बढेको हो’, आरसीआईडब्लू रोल्पाका इन्जिनियर राजु भट्टराईले भने ।

सडक खन्ने कार्य निरन्तर राखिनेछ। गोलबाङ–गुनथाल–कर्टम जोड्ने लक्ष्य रहेको स्थानीय जानसिंह बुढाले बताए । आरसीआईडब्लू र नगरपालिकाले सडक खन्न बजेट व्यवस्था गर्ने आश्वासन दिएका छन् । जंगलको बीच हुँदै सडक खनिए पनि रूख कटान गर्नु परेन । ‘डोजरले खनेको भए यहाँ भूक्षयको सम्भावना थियो । मानिसले खनेको उदाहरणीय सडक बनेको छ’, रोल्पा नगरपालिकाका मेयर पुरण केसीले भने, ‘मानिसले खन्दा पर्यावरणमा असर नपुग्ने र गाउँलेले रोजगारीसमेत पाए । अबको विकासको मोडेल यस्तै हुनुपर्छ । ’

हाङबाङसम्म सडक पुर्‍याएपछि गाउँलेले सडकको मंगलबार उद्घाटनसमेत गरे । जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढाले रिबन काटेर सडक उद्घाटन गरेका हुन् । घरेलु औजारले सडक खनेर गाउँसम्म पुर्‍याएको भन्दै प्रमुख बुढाले गाउँलेको प्रशंसा गरे । गाउँमा व्यावसायिक कृषि र पशुपालन गरी आम्दानी बढाउन बुढाले हौस्याए ।

०७४ असारदेखि सडक खन्न सुरु गरिएको हो । कडा चट्टान भएकाले योजनाअनुसार काम अघि बढ्न सकेको थिएन । कडा चट्टान फोड्न मात्र डोजर प्रयोग गरिएको गाउँलेले सुनाए । सडक लैजान गाउँलेले १४ लाख बराबरको श्रमदानसमेत गरे ।

यो खबर खेमबहादुर बुढाले आजको अन्नपूर्ण पोष्टमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार