रसुवा प्रदेश ख मा उपनिर्वाचन हुने ?

रसुवा । नयाँ शक्ति पार्टी नेपालका तर्फबाट रसुवा प्रदेश ख मा निर्वाचित प्रदेश सांसद् तथा केन्द्रीय कार्यकारी सदस्य प्रेम तामाङ भोली एक कार्यक्रमकाबीच काङ्ग्रेस प्रवेश गर्ने तयारीमा छन् । उनलाई काङ्ग्रेस सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराउने कार्यक्रम कालिकास्थानमा रहेको छ ।

निकै तामझामसहित गर्न खोजिएको प्रवेश कार्यक्रम आमाछोदिङ्मो गाउँपालिका अध्यक्ष बुचुङ तामाङसहित कोही पनि जनप्रतिनिधिहरु प्रवेश नगर्ने अडानका कारण निकै फितलो हुने सम्भावना रहको बुझिन्छ ।

नयाँ शक्ति पार्टी नेपालको केन्द्रीय कार्यालय प्रमुख मोती रिजालले आज एक विज्ञप्ती जारी गर्दै प्रेम तामाङलाई अनिश्चितकालका लागि पार्टीबाट निलम्बन गरेका छन् ।

उनले जारी गरिएको विज्ञप्तीमा भनिएको छ “निजी महत्वांकाक्षा र अहंकारलाई कार्यशैलीको आधार बनाउने, पार्टीलाई ढाल बनाएर अपारदर्शी आर्थिक संकलन गर्ने र पार्टी र जनताको हित विपरीतका क्रियाकलापमा संलग्न भएकोले उनलाई आजैको मितिबाट पार्टीको साधारण सदस्यबाट मुक्त गरिएको छ ।”
प्रेम तामाङको योजनामा विगतदेखि नै रसुवा जिल्लामा जलविद्युत आयोजनामा शेयर लगानीका नाममा एक कम्पनी निर्माण गरी झण्डै पाँच करोड रकम रसुवाली जनताबाट संकलन गरेका र हाल त्यो रकम कसरी कहाँ लगानी भएको छ भन्ने बारे आफूहरुलाई थाहा नभएको र सो बारे प्रेम तामाङ नै जवाफदेही हुने कुरा नाम उल्लेख नगर्ने शर्तमा नयाँ शक्ति रसुवाका एक नेताले नयाँ प्रवाहलाई बताए । उनले अगाडि थपे प्रेम तामाङले कन्टेनर खरिदको नाममा कम्पनी निर्माण गर्दै करिव दुई सय रसुवालीसँग रकम असुली गरी उनी र उनका आसेपासेहरुले झण्डै चार करोड कमाएको देखिन्छ तर कन्टेनर खरिद गर्ने रसुवालीको आम्दानी शून्यप्रायः छ र कन्टेनर बैंकले तानिरहेका कारण व्यवसायीहरुको रुवाबासी भएको समेत ती नेताले बताए ।

केन्द्रीय कार्यालयले प्रेम तामाङका यिनै गतिविधिका आधारमा पार्टीलाई ढाल बनाएर अपारदर्शी आर्थिक संकलन गर्ने गरेको भनी उल्लेख गरेको हुन सक्छ ।
विज्ञप्तीमा राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३१ बमोजिम निजलाई कारबाही हुने समेत उल्लेख छ ।

ऐनको परिच्छेद ६ दफा ३१ (१) भन्छ “कुनै दलको तर्फबाट उम्मेदवार भई निर्वाचित भएको संघीय संसद्को सदस्य, प्रदेश सभाको सदस्य वा स्थानीय तहको सदस्यले त्यस्तो पदको पदावधि कायम रहेसम्म जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो, त्यस्तो दल त्याग गर्न सक्ने छैन भनिएको छ ।” त्यसमै उपदफा २ भन्छ “उपदफा १ प्रतिकूल हुनेगरी कुनै सदस्यले दल त्याग गरेमा निज निर्वाचित भएको पद निजले दल त्याग गरेको मितिदेखि स्वतः रिक्त भएको मानिनेछ ।”

यसलाई आधार मानेर हेर्दा प्रेम तामाङ काङ्ग्रेस प्रवेश गरेमा उनको पद स्वतः रिक्त हुने देखिन्छ । र निर्वाचन आयोगले ६ महिनाभित्र उक्त क्षेत्रमा उपनिर्वाचन गर्ने देखिन्छ । यसरी हेर्दा रसुवा प्रदेश ख मा उपनिर्वाचन हुने निश्चित प्रायः छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार