अमेरिका-भारत तनाव : व्यापार सहुलियत बन्द गर्ने घोषणा

एजेन्सी । अमेरिकाले भारतलाई दिँदै आएको व्यापार सहुलियत बन्द गर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको व्यापार प्रतिनिधिको कार्यालयलाई निर्देशन दिँदै सहुलियतपूर्ण व्यापारिक सुविधा प्रदान गरिने कार्यक्रम जिएसपीबाट भारतको नाम हटाउन भनेका छन् । जिएसपीअन्तर्गत निश्चित वस्तुलाई अमेरिकामा करविना नै प्रवेश दिइन्छ र त्यसका लागि सम्बन्धित देशले कंग्रेसले निर्धारण गरेको केही मापदण्ड पूरा गर्नुपर्छ । भारतबाट वार्षिक करिब ८० अर्ब डलरबराबरका सामान अमेरिका निर्यात हुन्छ ।

 

के भन्यो अमेरिकाले ?
अमेरिकी व्यापार प्रमुखको कार्यालयले सोमबार एक वक्तव्य जारी गर्दै भारतलाई दिइरहेको अमेरिकी व्यापार सहुलियत प्रणाली ९जिएसपी० को दर्जा तत्कालै खारेज गर्न चाहेको जनाएको छ । सो कार्यालयले परिवर्तित सन्दर्भमा भारतलाई जिएसपीका प्रावधानबमोजिम समेट्न नसकिने बताएको छ । भारतले धेरै किसिमका व्यापारिक अवरोध सिर्जना गरिरहेकाले त्यसबाट अमेरिकालाई भारतीय बजारको सहज पहुँचमा कठिनाइ भइरहेको पनि सो कार्यालयले जनाएको छ ।

भारतले न्यायोचित पहुँच दिएन : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई भारतले आफ्नो बजारमा न्यायोचित पहुँच नदिएको आरोप लगाएका छन् । अमेरिकी कंग्रेसलाई पठाएको एक पत्रमा ट्रम्पले भनेका छन्, ‘भारतले अमेरिकालाई उसको बजारमा न्यायोचित पहुँच प्रदान गर्नेछ भनेर हामीलाई आश्वस्त पार्न सकेन ।’

 

दुई देशको व्यापारमा असर पर्दैन : भारत
भारतले अमेरिकी सहुलियत कटौतीले दुई देशबीचको व्यापारमा असर नपर्ने स्पष्ट गरेको छ । भारतको वाणिज्य मन्त्रालयका अनुसार अमेरिकी सहुलियत प्रणाली (जिएसपी) अन्तर्गत भारतबाट करिब ६ अर्ब डलर बराबरका सामान मात्र निकासी हुने गरेको छ । ‘जिएसपी सुविधा कटौती गरे पनि त्यसबाट अमेरिकातर्फको निकासीमा खासै प्रभाव पर्दैन,’ वाणिज्य मन्त्रालयले भनेको छ । अमेरिकी सहुलियतअन्तर्गत भारतले उक्त देशले ५.६ अर्ब डलरबराबरको सामग्रीमा विनाकर अमेरिकी बजारमा बेच्न पाएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार