एकता नटुङ्गिंदै विभाजनको खतरा, समानान्तर कमिटि बनाउने चेतावनी

काठमाडौं । पार्टी एकताको प्रक्रियामा आफ्नो समूहलाई पेलिएको भन्दै नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले नेकपाभित्र समानान्तर कमिटी बनाउने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्ड पार्टी एकताको अन्तिम गृहकार्यमा जुटेका बेला माधव नेपाल समूहले समानान्तर कमिटी बनाउने चेतावनी दिएको हो । अध्यक्षद्वबीच जिल्ला नेतृत्व टुंगाउन छलफल चलिरहेको बेला नेपालले समानान्तर कमिटीको चेतावनी दिएर आफ्नो प्रष्ट अंशबण्डा खोजेका छन् ।

नेता नेपालले सचिवालय बैठकभन्दा बाहिरबाट जिल्ला नेतृत्व टुंग्याए समान्तर कमिटी बनाउने चेतावनी दिएका हुन् । तर, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले नेपाललाई सहमतिमा ल्याउन प्रयास गरे पनि सफल हुन सकेका छैनन् । अर्का अध्यक्ष प्रचण्ड पत्नीको उपचारका लागि केही दिन अमेरिका निस्किएका छन् । प्रचण्डको अनुपस्थितिले विवादलाई थप जटिल बनाउने आशंका गरिएको छ ।

सरकारले फागुन २४ गते सीके राउत समूहसँग ११ बुँदे सहमति र फागुन २८ गते विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाउने निर्णय गरेपछि नेकपाका शीर्ष नेताबीच सम्वाद शुरु भएको थियो । यस्तो सहमति लगत्तै सचिवालय सदस्यहरु नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए । त्यसलगत्तै प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच कुराकानी भएको थियो, जहाँ राउतसँग भएको सहमति र पार्टी एकता सम्बन्धी विषयमा छलफल भएको थियो ।

त्यसपछि प्रधानमन्त्री एवं अध्यक्ष ओलीले शुरुमा नेपाल, खनाल र गौतमसँग छलफल गरेका थिए । पछि अध्यक्ष ओलीले नेपालसँग पनि छुट्टै छलफल गरेका थिए । जहाँ सीके समूहसँगको सहमति र विप्लव समूहमाथि प्रतिबन्ध लगाउने विषयका साथै एकता सम्बन्धी बाँकी काम टुंगाउने विषयमा छलफल भएको थियो ।

सीके राउत र विप्लवमाथि प्रतिबन्धवारे पहिला असन्तुष्ट नेता नेपाल र खनाल प्रधानमन्त्रीसँगको छलफलपछि सरकारी निर्णयको पक्षमा उभिएका थिए । तर, पार्टी एकता सम्बन्धी दुई अध्यक्षको सहमतिमा चाहिँ नेता नेपाल, खनाल, गौतम र श्रेष्ठको असन्तुष्टि कायमै रहेको स्रोत बताउँछ ।

पछिल्लो समय ओली र प्रचण्ड ७७ जिल्लामा पार्टी अध्यक्ष र सचिव टुंगाउने कोशिसमा छन् । ७७ जिल्लामध्ये कति जिल्लामा पूर्वएमाले र कति जिल्लामा पूर्वमाओवादी भन्ने बहस चलिरहेको छ । तर, पूर्वएमालेले पाउने जिल्लामा माधव नेपाल समूहबाट कति जना भन्ने टुंगो नलाग्दा विवाद बढ्दै गएको हो । पूर्वएमालेभित्र भागबण्डा नमिल्दा एकता लम्बिँदै गएको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको १० महिना पुगेको छ । तर, यो १० महिनामा पार्टी एकताका आधा भन्दा बढी काम टुंगिन सकेका छैनन् । यस अघि गठित कार्यदलका अनुसार विधान परिमार्जन, पोलिटव्यूरो गठन, केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजन, हुन सकिरहेको छैन ।

त्यसैगरि केन्द्रीय आयोगहरुको गठन, केन्द्रीय सल्लाहकार परिषद् र जेष्ठ कम्युनिष्ट मञ्चको गठन, राष्ट्रिय परिषदमा मनोनयन, प्रदेश स्तरीय विशेष कमिटीको गठन, जिल्लासहित मातहत कमिटीहरुको एकीकरण, जनवर्गीय संगठनहरुको एकीकरण, प्रवासका संगठन र सम्पर्क कमिटी एवं मञ्चहरुको एकीकरण र केन्द्रीय विभागहरुको गठन हुन सकेको छैन ।

पार्टी एकताको पछिल्लो १० महिनामा दुई अध्यक्ष तय, ४४१ सदस्यीय केन्द्रीय समिति गठन, नौ सदस्यीय सचिवालय, महासचिवमा विष्णु पौडेल र नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवत्ताको जिम्मेवारीबाहेक ४५ सदस्यीय स्थायी कमिटी गठन र प्रदेश कमिटी गठनको काम सकिएको छ ।

तर, प्रदेश कमिटीको नामावली स्थायी कमिटीबाट अनुमोदन हुन बाँकी छ । केन्द्रमा प्रदेश सदस्य परिमार्जन हुनुपर्ने विवाद चलिरहे पनि प्रदेश कमिटीका अधिकांश सदस्यहरुले सपथ लिएका छन् । विज्ञप्ति नै जारी गरेर प्रदेश कमिटी सार्वजनिक गरिएका कारण कसैलाई पनि फिर्ता गर्नसक्ने अवस्था छैन । यसले पनि एकतामा सकस भइरहेको छ ।

जिल्ला अध्यक्ष र सचिवको टुंगो लाग्न अझै केही समय लाग्नेछ । अध्यक्ष प्रचण्ड अमेरिकाबाट फर्किन कम्तिमा १० दिन लाग्ने बताएका छन् । प्रचण्ड फर्केपछि फेरि बैठक बस्ने र सचिवालय वा स्थायी समितिको बैठक बोलाएर जिल्ला नेतृत्व टुंगाउने सहमति भएको स्रोत बताउँछ ।

पूर्वएमालेको भागमा पर्ने कोटामा माधव नेपाल, बामदेव गौतम, झलनाथ खनालले मात्र होइन, ईश्वर पोखरेल लगायतका नेताहरुले पनि आफ्नो भाग खोजिरहेका छन् । माधव नेपालले त आफ्नो समूहलाई उपयुक्त कोटा नदिए समानान्तर कमिटी गठनको चेतावनी नै दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार