भूकम्पबाट विस्तापित रसुवाका १ सय १८ परिवारलाई पुनर्वास प्रक्रिया सुरु

रसुवा । भूकम्पका कारण विस्थापित भएका जिल्लाको उत्तरगया गाउँपालिका-१ तिरु र गोगने क्षेत्रका १ सय १८ परिवारलाई एकीकृत बस्तीमार्फत बसोबासको व्यवस्था गरिने भएको छ ।

भूकम्प लगत्तै आएको पहिरोका कारण विस्थापित भएका  पिडित परिवार रसुवा र छिमेकी जिल्ला नुवाकोटका विभिन्न ठाउँमा बसोबास गर्दै आएका थिए । विस्थापित परिवारलाई पुनर्निर्माण प्राधिकरणको सहयोगमा जग्गा खरिद गरी एकीकृत बस्तीको रुपमा तिरुमा स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइएको हो ।

पिपलटार, सातबीसे, बेत्रावती, बोगटीटार र खाल्टे क्षेत्रमा छरिएर विस्थापित शिविरमा बसोबास गर्दै आएका विस्थापितहरूलाई एकीकृत बस्तीका लागि जग्गा खरिद गर्ने कार्यमा दिगो समाधान कार्यक्रममार्फत सामुदायिक आत्मनिर्भर सेवा केन्द्र र पिनको सहजीकरणमा तिरु क्षेत्रमा जग्गा खरिद प्रक्रिया पुरा भएको आत्मनिर्भर केन्द्रका जिल्ला पैरवी संयोजक विश्वास नेपालीले बताए । उनले भने ‘उक्त क्षेत्रमा ५५ रोपनी जग्गा खरिद भइसकेको छ, अव एकीकृत बस्तीको प्रक्रिया सुरु हुने छ ‘

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत स्थानान्तरणका लाभग्राहीलाई उपलब्ध गराइने २ लाख रुपियाँले घडेरी खरिद गरिएको हो । एकीकृत बस्तीमार्फत सबै परिवारलाई पुनर्वास गराइने योजनाअनुसार प्रति परिवार ८ आना क्षेत्रफल बराबरको जग्गा खरिद गरिएको उत्तरगया गाउँपालिका वडा नं. १ का अध्यक्ष बमबहादुर तामाङले बताए । उनले भने, ‘विस्थापितलाई एकै ठाउँमा राख्दा विकासका पूर्वाधारसमेत एकै ठाउँमा गर्न सकिने र सजिलो हुने भएकाले एकीकृत बस्तीमा जान लागिएको हो ।’

विस्थापित तथा जोखीमयुक्त क्षेत्रका घरधुरीलाई पुनर्वासको लागि सुरक्षित स्थानमा जग्गा खरिद गर्नको लागि प्रति परिवार २ लाख रुपियाँ उपलब्ध गराइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालय रसुवाका प्रमुख भरतकुमार थापाले बताए । यसका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत २ करोड १८ लाख रुपियाँ खर्च भएको छ ।

रसुवा जिल्लामा भूकम्पको कारण करिव ११ सय घरपरिवार विस्थापित भएका छन्, जसमध्ये हालसम्म १ सय १६ घरपरिवारको स्थानान्तरणको लाभग्राही सूची प्रमाणिकरण भइसकेको छ । बाँकी प्रक्रियामा रहेको बताइएको छ । सोमध्ये हालसम्म ५ सय ५२ परिवारलाई पुनर्वासको लागि जग्गा खरिद प्रक्रिया सकिएको संयोजक नेपालीले बताए । उनले भने, ‘बाँकी परिवारको लागि पनि सुरक्षितस्थानमा जग्गा खोजी कार्य भइरहेको छ ।’

विस्थापित लाभग्राही सूचीमा परेका घरधुरीलाई यही चैत मसान्तभित्र जग्गा खरिद प्रक्रियामा सहयोग गर्ने जिल्ला पुनर्निर्माण समन्वय समिति रसुवाले निर्णय गरेको थियो । जिल्लाको नौकुण्ड गाउँपालिका वडा नं. १ लाम्बुमा २१ परिवार, उत्तरगया गाउँपालिका वडा नं. ५ बोगटीटारमा ४५ परिवार, नौबीसेमा १६ परिवार, तल्लो पहिरेमा २० परिवार, शान्तिबजारमा ४० परिवार, आमाछोदिङ्मो गाउँपालिका वडा नं. २ सानो हाकुमा करिव ५० परिवार, वडा नं. ४ गोल्जुङ बेसीमा २३ परिवार, वडा नंं. ५ थिल्पुमा २२ परिवारलाई जग्गा खरिद भई एकीकृत रुपमा बस्ती विकासको प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार