‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम : अब भाडामा बस्नेको पनि रेखदेख

काठमाडौ । प्रहरीले सामाजिक आपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न ‘समुदाय-प्रहरी साझेदारी’  कार्यक्रम संचालन गर्ने भएको छ । प्रहरीले कार्यक्रममार्फत समुदायसँग मिलेर ‘घर दैलो’ अभियान चलाउने छ ।

प्रहरी स्रोतका अनुसार आवश्यक प्रहरी अधिकारीको सम्पर्क नम्बरसहितको प्रचार सामग्री वितरण गरी समुदायसँग सम्बन्ध विस्तार गर्न घरघरमा पुग्ने गरी उक्त अभियान चलाउन लागिएको हो । घरदैलो कार्यक्रमअन्तर्गत हरेक घरघरमा सामाजिक सेचतनाका विषय उल्लेख गरिएको स्टिकरसमेत टाँस गरिनेछ ।

“सो कार्यक्रमअन्तर्गत जिल्ला समितिको बैठकले घरदैलो कार्यक्रम गर्ने निर्णय गरिरसकेको छ, अहिले हामी त्यसैको तयारीमा छौँ, छिट्टै अभियान सञ्चालन हुँदैछ’, काठमाडौँ प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले भने । समुदायसँग मिलेर मात्रै अपराध नियन्त्रण गर्न सकिने भएकाले घरदैलोलाई प्राथमिकता दिन लागिएको हो ।

घरदैलो कार्यक्रमका लागि घरघरमा पुग्नुपर्ने, सबै घरधनी र परिवारको विवरण र भाडामा बस्ने मानिसको विवरण लिनुपर्ने भएकाले तोकिएको ढाँचा वडा कार्यालयबाट लिने तथा घरघरमा टाँस गर्ने स्टिक तयार गर्ने प्रक्रिया शुरु गरिएको छ ।

घरदैलोसँगै सडक मानव, सडक बालबालिकामा र मगन्तेलाई जनचेतना र उद्धारमार्फत दिगो र प्रभावकारी व्यवस्थापनको कार्ययोजना बनाई कार्यान्वयन गर्ने, महिला हिंसा, महिला तथा बालबालिकाविरुद्धको अपराध, साइबर अपराध, सवारी साधन दुर्घटना न्यूनीकरण, मदिरा तथा लागुपदार्थ प्रयोगबारे अभिभावकको दायित्व विषयमा अभिमुखीकरण गर्ने कार्यक्रम तय भएको पोखरेलले बताए ।

नेपाल प्रहरीले गएको कात्तिक ११ गते देशभर एकैसाथ ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ लागू गरेको थियो । त्यसयता काठमाडौँ जिल्लाको सुरक्षा हेर्ने प्रहरी परिसरले समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत एउटा जिल्ला समिति, ११ पालिका समिति, १३८ वडा समिति, ७०३ विद्यालय सम्पर्क समिति, १३२ टोल समिति गठन गरेको र ४९० भन्दा बढी विद्यालयमा सम्पर्क कार्यक्रम गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार