बिद्यार्थी फेल भए शिक्षकलाइ कारवाही

काठमाडौँ । संसदको उपसमितिले परीक्षामा विद्यार्थी फेल भए शिक्षकलाई कारबाही गर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति मातहत गठित उपसमितिले पठनपाठनमा सबैभन्दा बढी शिक्षक जिम्मेवार हुनुपर्ने भन्दै यस्तो सिफारिस गरेको हो ।

एसईईमा ५० प्रतिशतभन्दा धेरै विद्यार्थीले ‘डी’ र ‘ई’ भन्दा कम ग्रेड ल्याए प्रधानाध्यापकको ग्रेड रोक्कासहित कारबाही हुनुपर्ने उपसमितिको प्रतिवेदनमा उल्लेख छ । तीन वर्षभन्दा बढी एउटै विषयमा विद्यार्थीले ‘डी र ई’ ग्रेड ल्याए विषय शिक्षकलाई सेवामुक्त गर्नुपर्ने सुझावसमेत छ । यस्ता विद्यालयका प्रधानाध्यापकलाई पदबाट घटुवा गर्ने व्यवस्था सुझाइएको छ । उपसमितिका सुझाव शिक्षा ऐन र नीतिमा समेट्न सरकारलाई निर्देशन दिइएको छ ।

शिक्षा मन्त्रालयको कामकारबाही व्यवस्थित र प्रभावकारी बनाउन अध्ययन र निर्देशन दिने उद्देश्यले उपसमिति गठन गरिएको थियो । अध्ययनपछि सांसद उमेश श्रेष्ठको संयोजकत्वको ८ सदस्यीय उपसमितिले प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा एसईईमा ९० प्रतिशतभन्दा बढी विद्यार्थीले ‘ए’ र ‘ए प्लस’ ग्रेड ल्याए त्यस्ता विद्यालयलाई थप बजेट दिनुपर्ने उल्लेख छ । उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई कुल बजेटको ५ देखि १० प्रतिशतसम्म प्रोत्साहन तथा भौतिक पूर्वाधार विकासका लागि रकम दिनुपर्ने सांसदहरूको तर्क छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार