अनौठो मिलन : सरकारविरुद्ध देउवा र बैद्य एकै ठाउँमा

काठमाडौँ । सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा क्रान्तिकारी माओवादी लगायत १० राजनीतिक दल एक ठाउँमा उभिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकार जनअपेक्षाविपरीत गएको भन्दै यी १० राजनीतिक दल निकट विद्यार्थी संगठनले आन्दोलनका निम्ति पार्टीलाई एक ठाउँ ल्याएका हुन् ।

विद्यार्थी संगठनले शुक्रबार राजधानीमा सयुक्त रुपमा ‘समसामयिक राजनीति र विद्यार्थी आन्दोलन विषयक विचार गोष्ठी’ आयोजना गरि काँग्रेस सभापति शेरबहादुर देउवादेखि नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन बैद्यसम्मलाई एकै ठाउमा ल्याएका हुन् ।

सरकार विरुद्ध प्रमुख प्रतिपक्षी दल कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी नेपाल, नेकपा क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, कोपाल किराँती नेतृत्वको नेकपा माओवादी, नेकपा माले, विप्लव नेतृत्वको नेकपा र चन्द्रबहादुर थापा नेतृत्वको राष्ट्रवादी एकता केन्द्र एक ठाउँमा उभिएका हुन् ।

कार्यक्रममा काँग्रेस सभापति देउवाले सरकारविरुद्ध आन्दोलन गर्न युवा र विद्यार्थीहरुलाई आह्वान गरे । सभापति देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकारले जताततै हस्तक्षेप गरिरहेको उल्लेख गर्दै त्यसको विरोधमा आन्दोलन गर्न आफ्नो पार्टी तयार रहेको पनि स्पष्ट पारे ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले वर्तमान सरकार फाँसीवादतर्फ उन्मुख रहेको आरोप लगाए । बैद्यले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई कम्युनिष्ट नेतृत्वको सरकार भन्नै नमिल्ने तर्क पनि गरे ।  उनले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने निर्णय पुनर्विचार गर्न पनि सरकारलाई दवाव दिए । महासचिव बैद्यले चन्द नेतृत्वको नेकपालाई राजनीतिक व्यवहार गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष किरातीले सरकार विरुद्धको आन्दोलन अपरिहार्य रहेको बताए । यसका लागि सबै दल एक हुनुपर्ने भन्दै उनले त्यसको संयोजन लोकतान्त्रिक खेमाको देउवा र कम्युनिस्टको मोहन वैद्यले गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार