पतिसँग पैसा असुल्न पूर्व प्रेमीसँग मिलेर आफ्नै अपहरण

दोलखा । आफ्नै श्रीमानसँग पैसा असुल्न पूर्व प्रेमीसँग मिलेर नक्कली अपहरणको योजना बनाएको आरोपमा दुईजना पक्राउ परेका छन् ।

दक्षिणी दोलखाको मेलुङ गाउँपालिका २ की २१ वर्षिया अप्सरा कार्की र भीमेश्वर नगरपालिका ९, पिँडालुबारीका २४ वर्षिय दीपक खत्री नक्कली अपहरण गरी आपराधिक लाभ लिन खोजेको आरोपमा पक्राउ परेका हुन् ।

दोलखा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बोहराका अनुसार श्रीमानसँग पैसा असुल्ने योजना बनाएकी श्रीमती र उनका प्रेमी बुधबार पक्राउ परेका हुन् ।

यस्तो छ घटना

पक्राउ परेकी कार्की बैशाख १ गते आइतबार मेलुङ गाउँपालिका २ स्थित घरबाट शैलुङ गाउँपालिका ८ मा रहेको माइतीघर जान्छु भनी गएकोमा केही घण्टामै सम्पर्कबिहीन भएकी थिइन् ।

बैशाख २ गते सोमबार काठमाडौंमा काम गर्ने श्रीमान् सूर्यबहादुर खड्काको मोबाइलमा अपरिचित नम्बर र श्रीमतीको मोबाइल नम्बरबाट छुट्टा छुट्टै तर एउटै ब्यहोराको म्यासेज आउँछ । श्रीमती अपहरणमा परेको धम्कीसहित उक्त म्यासेजमा एकलाख फिरौती माग गरिएको प्रहरीले जनाएको छ ।

म्यासेजमा लेखिएको थियो- ‘तिम्रो श्रीमती मेरो कब्जामा छ, श्रीमती चाहिने भए एकलाख रुपैयाँ लिएर आऊ, नभए तिम्रो श्रीमतीको लाश मात्र पाउने छौ । मागे जति रकम तुरुन्तै लिई श्रीमतीलाई लिन आउनू ।’

श्रीमती अपहरणमा परेको धम्की र फिरौती माग गरिएको म्यासेज आएपछि अत्तालिएका खड्काले तत्काल दोलखा प्रहरीलाई खबर गरेपछि सक्रिय भएको प्रहरीले २ दिनमै नक्कली अपहरणको नाटक गर्ने उनकै श्रीमाती र श्रीमतीका पूर्वप्रेमीलाई पक्राउ गरेको हो ।

प्रहरी टोलीले खोजतलासको क्रममा बुधबार भीमेश्वर नगरपालिका ९ स्थित पिंडालुबारीस्थित घरबाटै आरोपित जोडीलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा पक्राउ परेका दुबै जनाले मिलेमतोमै नक्कली अपहरणको योजना बनाएको बयान दिएको प्रहरीको भनाई छ ।

सोधपुछका क्रममा दुबैबीच प्रेमसम्बन्ध रहेको र भागेर कतै गई व्यवसाय गर्ने उद्देश्यले फिरौतीको रकम माग गरेको स्वीकार गरेका छन् । पक्राउ परेका दुबै जनालाई ‘अपराधिक लाभ लिन नहुने’ सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको सूचना अधिकारी निरीक्षक बोहराले जानकारी दिए । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार