यी हुन् आइपिएलमा सर्वाधिक लामो छक्का प्रहार गर्ने खेलाडी

एजेन्सी । विश्वकै सर्वाधिक धनराशीको लोकप्रिय फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल)को  १२ औं संस्करण हाल भारतका विभिन्न सहरमा जारी छ ।

प्रतियोगिताको ४३ औं खेल सकिंदा चेन्नई सुपर किंग्सको प्ले अफको संभावना लगभग पक्का देखिन्छ । अन्य सबै टोली भने बाँकी ३ स्थानका लागि प्रतिस्पर्धामा छन् । तुलनात्मक रुपमा रोयल च्यालेन्जर्स बेंगलोरको प्ले अफको संभावना भने निकै कमजोर छ ।

आईपीएलमा विश्वका सबै नाम चलेका स्टार क्रिकेटरहरु खेल्ने गर्दछन् । खेल अन्तर्गत चौका, छक्का, शतक, क्याच र विकेट लिएपछि खेलाडीले गर्ने सेलिब्रेसनले हरेक समर्थकलाई मनोरन्जन दिने गर्दछ । त्यस्तै मध्यको एक हो छक्का । हरेक समर्थकले आफूले समर्थन गर्ने टोलीका ब्याट्सम्यानबाट ठूला ठूला छक्काको आसा गरेका हुन्छन् ।

आईपीएल इतिहासमा वेस्ट इन्डिजका ओपनर क्रिस गेल कुल ३ सय २४ छक्का प्रहार गर्दै सर्वाधिक छक्का प्रहार गर्ने सूचिको शीर्षस्थानमा छन् । एबि डी भिलियर्सले २ सय ११ र महेन्द्रसिंह धोनीले २ सय ३ छक्का प्रहार गरेका छन् । यसक्रममा आईपीएल इतिहासमा सर्वाधिक लामो छक्का प्रहार गर्ने पाँच खेलाडी यसप्रकार छन् ।

५) क्रिस गेल (१ सय १९ मिटर)

विश्व क्रिकेटमा विष्फोटक ब्याटिङको कुरा गर्दा वेस्ट इन्डिजका ओपनर क्रिस गेलको नाम अग्रस्थानमा आउने गर्दछ । गेल आईपीएलमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी समेत हुन् । गेलले सन् २०१३ मा रोयल च्यालेन्जर्स बेंगलोरबाट पुने वारिवर्सका अली मुर्तजालाई मिड विकेटमा कडा छक्का प्रहार गरेका थिए । जुन छक्का १ सय १९ मिटर टाढा पुगेको थियो । त्यसै खेलमा गेल ६६ बलमा १७ छक्का र १३ सहित १ सय ७५ रनमा नटआउट रहेका थिए ।

४) रोविन उथप्पा (१ सय २० मिटर)

भारतीय टिमका पूर्व खेलाडी रोविन उथप्पाले सन् २०१० मा रोयल च्यालेन्जर्स बेंगलोरबाट वानखडे स्टेडियममा १ सय २० मिटर टाढा छक्का प्रहार गरेका थिए ।

३) एडम गिलक्रिष्ट (१ सय २२ मिटर)

सन् २०११ मा किंग्स इलाभेन पन्जावका कप्तान समेत रहेका एडम गिलक्रिष्टले रोयल च्यालेन्जर्स बेंगलोरका चार्ल लैंगेवेल्टलाई धर्मशालामा १ सय २२ मिटर लामो छक्का प्रहार गरेका थिए ।

२) प्रविन कुमार (१ सय २४ मिटर)

सन् २००८ मा बेंगलोरबाट खेल्दै प्रविन कुमारले राजस्थान रोयल्सका बलर युसुफ पठानलाई १ सय २४ मिटर लामो छक्का प्रहार गरेका थिए । घरेलु मैदान चिन्नास्वामी स्टेडियममा अफ स्पिनर पठानलाई लङ अनमा उक्त छक्का प्रहार गरेका थिए ।

१) एल्बी मोर्कल (१ सय २५ मिटर)

दक्षिण अफ्रिका अलराउन्डर एल्बी मोर्कलले चेन्नई सुपर किंग्सबाट सन् २००८ मा १ सय २५ मिटर लामो छक्का प्रहार गरेका थिए । जुन आईपीएलकै सर्वाधिक लामो छक्कामा पर्दछ । घरेलु मैदान चेन्नईमा मोर्कलले डेकन चार्जर्सका प्रज्ञान ओझालाई मिड विकेटमा उक्त छक्का प्रहार गरेका थिए

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार