प्रदेश १ को स्थायी राजधानी विराटनगर तोकियो

विराटनगर । प्रदेश १ को स्थायी राजधानी विराटनगर हुने भएको छ ।

सोमबार बसेको प्रदेशसभाको बैठकले विराटनगरलाइ प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव बहुमतले पारित गरेको हो । कूल ९३ जना प्रदेशसभा सदस्यमध्ये उपस्थित ८६ सदस्यले प्रस्तावको पक्षमा मतदान गरे भने भने विपक्षमा कुनै मत परेन ।

विपक्षी नेपाली कांग्रेसले समेत आफ्नो प्रस्ताव फिर्ता लिएर नेकपाको प्रस्तावलाई समर्थन जनाएको हो ।

काङ्ग्रेसका तर्फबाट प्रदेशसभा सदस्य केदार कार्की, धनकुटाका लागि सदस्य लीला सुब्बा तथा धनकुटाकै लागि निरन राईले दर्ता गराएको प्रस्ताव फिर्ता लिएपिछ उक्त प्रस्ताव दुई तिहाइले पारित भएको हो।

प्रदेशसभामा धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्ने सहित चार प्रस्ताव पनि दर्ता भएको थियो । तर, सत्तारुढ नेकपाका बुद्धिकुमार राजभण्डारीको प्रस्तावालाई समर्थन गर्दै सबैले प्रस्ताव फिर्ता लिएका थिए ।

प्रदेश नं १ को स्थायी राजधानी विराटनगर नै भनिए पनि कार्यपालिका र व्यवस्थापिकाका लागि बन्ने नयाँ संरचना सुनसरीको इटहरी, सुन्दरहरैंचा र विराटनगर आसपास क्षेत्रमा बन्ने प्रस्तावको कैफियतमा उल्लेख छ ।

प्रस्तावक भण्डारीले प्रदेश सरकारले दुई तिहाइको दम्भबाट नभएर सबैको भावना र आकाङ्क्षालाई पूरा गर्न प्रदेशको राजधानी विराटनगर कायम गरेको बताए । सदस्य जयराम यादव र इन्दिरा राईले एतिहासिक महत्व बोकेको विराटनगर राजधानी कायम हुनु निकै खुशी व्यक्त गर्दै सत्तापक्षले संरचना निर्माणका विषयमा प्रतिपक्षसँग गरेको भद्र सहमतिलाई पालना गर्नुपर्ने धारणा राखे ।

प्रदेशको राजधानी तोकिए पनि नाम भने तय भएको छैन । नाम तय नगरी सोमबारदेखि प्रदेश अधिवेशन अन्त्य भएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार