देशभरका पत्रकार आन्दोलनमा उत्रँदै

काठमाडौं । पत्रकारलाई नियन्त्रण गर्नेगरी कानुन ल्याउन लागेको भन्दै नेपाल पत्रकार महासंघले सरकारविरुद्ध आन्दोलन घोषणा गरेको छ । शुक्रबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै महासंघले बिहीबार संसदमा दर्ता भएको मिडिया काउन्सिल सम्वन्धी विधेयक फिर्ता लिन सरकारलाई आग्रह पनि गरेको छ ।

बिधेयकमा राखिएका प्रावधानहरुले मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगकारुपमा स्थापित गर्ने र स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने महासंघको ठहर गरेको छ ।

त्यस्तै संसदमा विचाराधिन अवस्थामा रहेका विज्ञापन सम्वन्धी ऐन र सूचना प्रविधि सम्वन्धी विधेयकमा भएका प्रेस स्वतन्त्रता विरोधी दफा सच्चाउन माग गरेको छ । महासंघले संसदमा दर्ता हुने क्रममा रहेका आम संचार विधेयक र सार्वजनिक सेवा प्रसारण विधेयकबारे सबै सरोकारवाला पक्षसँग छलफल र सहमति कायम गर्न आग्रह अपिल गरेको छ ।

आन्दोलनका कार्यक्रम :

बैशाख २९ गते :  महासंघका पूर्व पदाधिकारी, संचारमाध्यमका सम्पादक, कानूनविद र विज्ञहरुसँग छलफल ।

बैशाख ३० गते : संघिय संसदका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाईने ।

बैशाख ३१ गते : संसदका सम्वन्धित समितिका सभापति र सदस्यहरुसँग छलफल ।

जेठ १ गते :  कार्यक्षेत्रमा कालोपट्टी लगाएर काम गर्ने । महासंघ केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र शाखा कार्यालयमा सरोकार पक्षबीच बृहद छलफल कार्यक्रम आयोजना गर्ने ।

जेठ ३ गते : काठमाडौंमा संसद वाहिर र जिल्लाहरुमा सदरमुकाममा संचार साधनसहित बृहद प्रदर्शन गर्ने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार