नेकपा बैठक : जनवर्गीय संगठन एकताको टुंगो लाग्दै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जनवर्गीय संगठनको एकीकरण टुंगो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी सचिवालय बैठकले २२ वटा जनसंगठनको एकीकरण टुंगो लगाउने बताइएको छ ।

स्रोतले दिएको जानकारी अनुसार जनवर्गीय संगठनको एकता गर्दा पूर्व एमाले र पूर्व माओवादीबीच नेतृत्व भागबण्डाका विषयमा सहमति भैसकेको छ । भागबण्डा अनुसार तत्कालीन एमालेले १२ र तत्कालीन माओवादीले १० वटा जनवर्गीय संगठनको नेतृत्व पाउने सम्भावना रहेको छ ।

नेकपामा प्रभावशाली मानिएका बिद्यार्थी र युवा संगठन पूर्व एमाले र पूर्व माओवादीले एक-एक वटा लिने सहमति भएको छ ।सहमति अनुसार विद्यार्थी संगठनको नेतृत्व पूर्व एमालेले नेतृत्व पाउने भएको छ भने युवाको नेतृत्व पूर्व माओवादीले पाउने छ ।

त्यसैगरी मजदूर संगठनको नेतृत्व पूर्वएमाले पाउँदा महिलाको नेतृत्व पूर्वमाओवादीले पाउने छ ।

जनसंगठनको नेतृत्व बाँडफाँडमा सहमति जुटे पनि संयोजक र सहसंयोजकको मोडलमा जाने कि अध्यक्ष र सचिवको मोडलमा जाने विषयमा छलफल जारी रहेको बताइएको छ । नेतृत्व मोडलको विषयमा टुंगो लागेपछि व्याक्तिका विषयमा छलफल हुने बताइएको छ ।

पूर्वएमालेको भागमा परेको विद्यार्थी संगठन अनेरास्ववियुमा नवीना लामा र ऐन महरमध्ये एकको सम्भावना छ । तर, उपाध्यक्ष रश्मि आचार्यसहित अरू पनि दाबेदार रहेका छन् । पूर्व माओवादीको भागमा परेको युवा संगठनमा वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाको सम्भावना रहेको छ ।

इन्जिनियर, मानवअधिकार र कानुन क्षेत्रका जनसंगठनको भने यसअघि नै एकता भइसकेको छ । जनसांस्कृतिक महासंघ, मधेसी संगठन, मुस्लिम संगठन, दलित संगठन, भूतपूर्व सैनिक संगठन, खेलकुद संगठन, सुकुमबासी संगठन, उद्योग व्यवसायी संगठन, बुद्धिजीवी, कर्मचारी संगठनमा नेतृत्व टुंगिन बाँकी छ ।

पार्टी एकीकरणको एक वर्ष पुगेको अवसरमा जेठ ३ गते शुक्रवार जनवर्गीय संगठनहरुको एकीकरण घोषणा हुनसक्ने नेकपाका एक नेताले बताए  ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार