शैक्षिक समस्या र विद्यार्थी संगठनको खस्कँदो भूमिका

इतिहासलाई हेर्दा परिवर्तन र विद्यार्थी आन्दोलन पर्यायका रुपमा देखिन्छन् । निरंकुशताका विरुद्ध सबैखाले आन्दोलनमा विद्यार्थीहरु सबैभन्दा पहिले सडकमा ओर्लेको देखिन्छ । जहाँनिया राणा शासनका विरुद्ध सात सालको क्रान्ति, निरङ्कुश पंचायती शासनका विरुद्ध ४६ सालको जनान्दोलन, जातीय, क्षेत्रीय, वर्गीय लैंगिकलगायतका विभेदका विरुद्ध भएको महान जनयुद्ध, जनयुद्धको जगमा भएको ६२/६३ को जनान्दोलन लगायत सबैखाले जनसंघर्षका मोर्चामा  विद्यार्थी संगठनको अग्रणी भूमिका रहेको देखिन्छ । शैक्षिक मुद्धामा मात्र नभई जनजीविकाका सवालमा समेत विद्यार्थी संगठनले खेलेको भूमिका र त्यसैको जगमा आएको परिवर्तनको गौरवशाली इतिहास आजपनि  जीवन्त छ ।

यति ठूलो गौरवपूर्ण इतिहास बोकेको विद्यार्थी आन्दोलन यतिबेला बिस्तारै धुमिल हुँदै गैरहेको छ निरङ्कुश शासन व्यवस्थाको प्रतिकूल अवस्थामा समेत संघर्ष र बलिदानीको माध्यमद्वारा आफ्नो क्रान्तिकारी साख जोगाउदै आएको जनताको सारथिको रुपमा परिचित विद्यार्थी संगठनहरु गणतान्त्रिक व्यवस्थाको यो अनुकूल समयमा झन् जनपक्षीय हुनुपर्ने थियो तर विडम्बना ! आज विद्यार्थी संगठनहरु यो एतिहासिक भूमिका निर्वाह गर्ने महान अवसरबाट बिमुख हुँदै गैरहेका छन् अझ भन्दा विद्यार्थी आन्दोलन अहिले रक्षात्मक अवस्थामा पुगेको छ वाक् तथा अभिव्याक्ति स्वतन्त्रता नभएको तत्कालिन अवस्थामा समेत आफ्नो भूमिकामा सशक्त रहेका विद्यार्थी संगठनहरु गणतन्त्र स्थापना पछिको यो अनुकूल अवस्थामा झन् किन रक्षात्मक बन्न पुगे त ? किन विद्यार्थी संगठन र समग्र विद्यार्थी आन्दोलनको औचित्यमाथि प्रश्न उठ्न थाल्यो त ? किन कमजोर बन्दै गयो त विद्यार्थी आन्दोलन ? यी प्रश्नको निर्मम समिक्षा जरुरी छ

मौसमी र देखावटी आन्दोलन :

आज पनि आम विद्यार्थिहरुले तमाम समस्या झेल्नु परेको छ परिवर्तित समय अनुरुप पाठ्याक्रम परिमार्जित हुन् सकिरहेको छैन अनुसन्धान केन्द्रहरु बन्द अवस्थामा छन् कलेज, विश्वविद्यालय र विद्यालयहरुमा पर्याप्त अध्ययन सामग्रीको अभाव छ प्रयोगात्मक फिल्डलगायत अन्य विषयमा आएका वजेट वर्षेनी फ्रिज भएर गएका छन् आम विद्यार्थीको जीवनसँग गाँसिएका यस्ता सवालहरुप्रति विद्यार्थी संगठनहरु पुरै बेखवर जस्ता देखिन्छन् अझ आफ्नो मातृ पार्टी सरकारमा छ भने त झन् यस्ता बेतिथिका विरुद्ध बोल्नु भन्दा पनि सरकार पक्षीय भएर उल्टै आन्दोलनका विरुद्ध खडा हुनु विद्यार्थी संगठनहरुको चरित्र नै बनिसकेको छ

नयाँ शैक्षिक सत्रको सुरुआतसंगै शुल्क वृद्धिको विरोधमा आन्दोलन गर्ने तर त्यसलाई निष्कर्षमा पुर्याउन नसक्ने अहिले विद्यार्थी संगठनहरुको वार्षिक कार्यक्रम जस्तै भएको छ विद्यार्थी नेताहरु आन्दोलनको उठान गर्छन् अनि आर्थिक लेनदेन मिलेपछि बिना निष्कर्ष आन्दोलन स्थगित गर्छन्, भन्ने आम बुझाइ नै बनिसकेको छ त्यसैले, कर्मकाण्डीय हिसाबले गरिने यस्ता परिणाम बिहिन आन्दोलनले विद्यार्थी संगठन र समग्र विद्यार्थी आन्दोलनकै साख गिराइ रहेको छ

संगठन भित्रका गुट उपगुट :

आम विद्यार्थीको हकहित, अधिकार र शैक्षिक मुद्धामा सदैव एकजुट हुने विद्यार्थी संगठनहरु पछिल्लो समय एउटै संगठन भित्र पनि गुट-उपगुटमा विभाजित छन् यी गुट-उपगुट समस्या समाधानका उद्धेश्यबाट नभई केवल नीजि स्वार्थ पूर्तिका लागि प्रेरित देखिन्छन् अझ संगठनको उपल्लो तहमा पुग्न अमूक नेताको सहारा लिनुपर्छ भन्ने मान्यता नै स्थापित भैसकेको छ विद्यार्थी संगठनमा ‘राम्रो होइन हाम्रो’ रोज्ने परिपाटीले हाबी भैरहेको छ यस्तो अवस्था संगठनको सबै तहमा देखिन्छ । गुट-उपगुट र नीजि स्वार्थमा चुर्लुम्म डुबेको यस्तो संगठनले आम विद्यार्थीको पक्षमा आफूलाई उभ्याउन सक्छ भन्ने कल्पना कल्पना समेत गर्न सकिंदैन

विद्यार्थी नेता र उनीहरुको जीवनशैली :

अधिकांस विद्यार्थी संगठनका केन्द्रीय कार्यालय वागबजार वरिपरी छन् त्यसैको वरिपरी वर्षौदेखि आफ्नो व्यापार व्यवसाय गर्नेहरु पनि छन् विद्यार्थी नेताहरुलाई उनीहरुले नजिकबाट चिनेका हुन्छन् वर्षौदेखि व्यवसाय गर्नेहरुले एउटा मोटरसाइकल फेर्न सकेको हुँदैन तर, कहिँ वर्ष अगाडी चप्पल लगाएर झण्डा बोकेर हिंड्नेहरु अहिले टिपटप बनेर मोटरसाइकल चढेर हिंड्छन् । ती व्यवसायीहरुले यो सब देखिरहेको हुन्छ । सुन्छ, यो केटाले घर बनाइसकेको छ । उसले बुझ्न खोज्छ, विद्यार्थी नेताहरुको आम्दानीको श्रोत के होला ?  त्यसैले यस्ता नेता र उनीहरुका अपारदर्शी जीवनशैलीले गर्दा विद्यार्थी संगठनहरुप्रति आमविद्यार्थीमा घृणा पैदा हुन् थालेको छ । आफ्नो नीजि जीवनका लागि संगठनको प्रयोग गर्ने नेताबाट आमविद्यार्थीका हकहित र अधिकारका पक्षमा के आशा गर्ने ? आम मानिसहरुमा आज यो प्रश्न जब्बर बनेर उठेको छ ।

सत्ताको चाप्लुसी :

खासमा विद्यार्थी आन्दोलनलाई प्रतिपक्ष आन्दोलनका रुपमा बुझिन्छ विद्यार्थीका समस्या समाधानका लागि सधै उनीहरुको साथमा रहने र जनहित विपरित कुनै काम गरेमा आफ्नो पार्टी, नेता र सरकारको विरुद्धमा जनमत निर्माण गर्न पछि नहट्ने यो दस्ता आज नेताको गुलामी गर्ने प्रतिष्पर्धामा देखिन्छ आज विद्यार्थी नेताहरु आफ्ना नीजि स्वार्थका लागि पार्टीले गरेका सबै निर्णयको समर्थन गर्न होडबाजी नै गर्न थालेका छन् सरकारले गरेका कतिपय जनहित विपरितका निर्णयमा समेत प्रतिरक्षामा उत्रिएर विद्यार्थी नेताहरुले आफ्नो हित गरेका छन् विद्यार्थी आन्दोलनको नेतृत्व गर्ने नेताहरु यसरी नीजि फाइदाका लागि सत्ताको समर्थक बनेर खडा हुँदा विद्यार्थी आन्दोलनलाई नै प्रतुत्पादक बनेको छ

यी त केहि प्रतिनिधिमूलक उदाहरण मात्र हुन् यस्ता धेरै प्रवृतिजन्य समस्या छन्, जसका कारण आज विद्यार्थी आन्दोलन बद्नाम हुन् पुगेको छ विद्यार्थी आन्दोलन भित्र मौलाउंदै गएका यस्ता प्रवृतिहरु नसच्याउने हो भने विद्यार्थी आन्दोलनको औचित्यतामाथि अझै ठूलो प्रश्नचिन्ह खडा हुन्छ तर, सच्चिने र सच्च्याउने समय अझै छ निरास भएर बस्ने या त्रुटी सच्च्याएर अगाडी बढ्ने ? प्रश्न हामी तिर पनि तेर्सिएको छ

ह्रास हुँदै गैरहेको विद्यार्थी आन्दोलनको औचित्यलाई पुनर्स्थापित गराउने जिम्मा विद्यार्थी संगठनकै हो अब विद्यार्थी संगठन र तिनका नेताहरुले आफ्नो अपारदर्शी जीवनशैली सच्याउने हिम्मत गर्नैपर्छ । अन्यथा आम विद्यार्थीहरु उनीहरुकै विरुद्धमा सडकमा नआउलान भन्न सकिन्न । विद्यार्थी आन्दोलनको गौरवपूर्ण इतिहासलाई बचाइराख्न पार्टीका नेतातर्फ फर्केको संगठनलाई जनतातर्फ फर्काउने हिम्मत गर्नु अपरिहार्य छ ।

विशेष गरी गतिहीन बन्दै गैरहेको संगठनलाइ गतिशील बनाउन आमविद्यार्थी र विद्यार्थी संगठनलाई जोड्ने गरि कार्यक्रम बनाउन अब ढिला गर्नु हुँदैन । तमाम शैक्षिक समस्याको हल खोज्न बैज्ञानिक सयन्त्र बनाउनु आवश्यक छ । शिक्षामा भएको निजीकरणका विरुद्ध अब देशभर एकैसाथ संघर्षमा उत्रिनु आजको अपरिहार्य आवश्यकता हो । संविधानको धारा ३१ को उपधारा २ मा व्यवस्था भए बमोजिम माध्यामिक तहसम्मको निशुल्क शिक्षा पाउने अधिकारको ग्यारेन्टीका लागि विद्यार्थी संगठनले रचनात्मक खवरदारी गर्न ढिलो गर्नु हुँदैन ।

(लेखक: अखिल (क्रान्तिकारी) आरआर क्याम्पसका नेता हुन् )

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार