विप्लवको बन्द : बिभिन्न स्थानमा आगजनीका घटना, जहाँ भेट्यो त्यहि पक्राउ गर्न निर्देशन

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव उपत्यकामा आंशिक मात्रामा देखिएको छ । अन्य दिनभन्दा आज कम सवारी साधन चलेका छन् । निजी सवारी साधनहरु सडकमा केही बाक्लो देखिए पनि सार्वजनिक गाडीहरु कम चलेका छन् ।

निर्वाध रुपमा सवारी नचल्दा बिहानैदेखि जनजीवन प्रभावित भएको छ । सीमित मात्रामा चलेका सवारी साधनमा कोचिएर यात्रा गर्न यात्रुहरु बाध्य भएका छन्  ।सडकमा सवारी गुडिरहेका भए पनि अन्य दिनभन्दा आज बिहानैदेखि कम सवारी चलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाको भनाइ छ । काठमाडौंबाट उपत्यका बाहिर जाने सवारी साधन बन्दको मारमा परेका छन् ।

यसैबीच, प्रहरीले नेत्रविक्रम चन्द विप्लवका नेकपाका १२ जना कार्यकर्तालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोटेश्वरबाट बुद्धिबहादुर सुनारसहित ७ जना छन् । त्यस्तै, झापाका चन्द्र बोहरा गौशालाबाट पक्राउ परेका छन् ।

त्यसैगरी नुवाकोट विदुर नपा ११ का विक्रम तामाङ, अनिल रानामगर, कृष्ण आलेमगर, राज थापा मगरलाई सोमबार विहान लगनखेलबाट पक्राउ गरिएको छ। उनीहरुलाई प्रहरी प्रभाग मंगलबजार ललितपुरमा राखिएको छ ।

यसैगरी नेपाल बन्द घोषणापछि प्रहरी र नेपाली सेनाको टोलीले ललितपुर, काठमाडौं, नवलपरासी, मकवानपुर र कास्की, दार्चुला र सर्लाही गरी ७ जिल्लाको ८ ठाउँमा राखिएको बम निष्क्रिय बनाएको छ ।

बन्दका क्रममा वान्द्कर्ताले विभिन्न ठाउमा सवारी साधनमा आगजनी गरेका छन् ।

प्रहरीका अनुसार रामेछापको मन्थली नगरपालिका हात्तीचारबाट मन्थली आउँदै गरेको ना ८ ख ३७७० नम्बरको इटा लोड भएको टिप्पर, हेटौंडा उपमहानगरपालिका २ भीमफेँदी काठमाडौं सडक खण्डस्थित ना७ ख ९४९३ नम्बरको आइचर ट्रक, सुर्खेतको भेरीगंगा नगरपालिका ८ गोलेखोलास्थित ना २ ख ७४४४ नम्बरको यात्रुबाहक बस, नवलपरासीको कावासोती नगरपालिका १६ स्थित बा ३ च ९३ नम्बरको गुडिरहेको जिप, मकवानपुरको थाहा नगरपालिका १ कुलखोलास्थित ना ६ ख ८००७ नम्बरको ट्रकमा विप्लव समूहका कार्यकर्ताले आगजनी गरेर फरार भएका छन्।

आगजनीमा संलग्नको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । बन्द र आगजनीमा संलग्नलाई जहाँ भेट्यो त्यहीबाट नियन्त्रणमा लिन देशभरका प्रहरी युनिटलाई निर्देशन दिइएको प्रहरीले जनाएको छ ।

(बिभिन्न अनलाइनमा प्रकाशित समाचारको सहयोगमा)

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार