मेरो भनाईलाई अनावश्यक प्रचार गरियो : प्रचण्ड

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको कार्याकाल सम्बन्धी आफ्नो भनाईलाई अतिरञ्जित गरिएको भन्दै दुखेसो गरेका छन् । उनले विगतमा पार्टी एकिकरणको बेला भएको सहमतीलाई स्मरण गराएको विषयलाई अनावश्यक उचाल्नु जरुरि नभएको समेत बताए ।

विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै प्रचण्डले पार्टी भित्र विगतको सहमति कार्यान्वयन गरेर अगाडी बढ्ने बताए ।

पार्टी एकताका बेला भएका सहमतिलाई मात्र स्मरण गरेको भन्दै प्रचण्डले ठूलो प्रचार गर्नुपर्ने कुनै कुरा आफूले नबोलेको प्रष्ट पारे । उनले भने, ‘प्रचार गर्नुपर्ने विषय बोलेको छैन् । केहीले प्रचार गर्ने, हल्ला गर्ने विषय बोलेको छैन् । मेरो कुरा प्रधानमन्त्री एवं पार्टी अध्यक्षले राम्रोसंग बुझ्नु भएको छ ।’

सरकार परिवर्तन हुने वा नहुने भन्ने पत्रकारको जिज्ञासामा प्रचण्डले विगतको सैद्धान्तिक र व्यवहारिक प्रतिवद्धता अनुसार पार्टी अगाडी बढ्ने बताए । उनले भने ’सैद्धान्तिक र व्यवहारिक प्रतिवद्धता अनुसार हामी अगाडी बढ्छौं । म पार्टीका नेता कार्यकर्ता, समर्थक र शुभचिन्तकलाई अनावश्यक बहसको विषय नबनाउन आग्रह गर्छु । अनावश्यक धु्रविकरण गर्न जरुरी छैन । मैले नयाँ कुरा होइन, पहिल्यै आएको कुरा बोलेको छु । पहिलो पटक बोलेको पनि होइन । विगतको सहमति कार्यान्वयन गरिन्छ ।’

आलोपालो सरकार चलाउने विषय पुरानै विषय भएको र यसअघि कयौ पटक संचारमाध्यममा आईसकेकाले अनावश्यक प्रचारवाजीमा नजान प्रचण्डले अनुरोध गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार