नेपालको शैक्षिक क्षेत्रमा चीनको सहयोगको महत्वपूर्ण : सांसद् भुसाल

ललितपुर । ललितपुरको सातदोबाटोस्थित महेन्द्र आदर्श विद्याश्रमको नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले ध्वस्त पारेको उक्त विद्यालय चाइना फाउन्डेसन फर पोभर्टि इलेभेसनको सहयोगमा निर्माण भएको हो ।

२ करोड ९ लाख ५० हजार लागतमा निर्माण गरिएको १० कोठाको २ तले नवनिर्मित पक्कि भवन आइतबार एक समारोहबीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेकी प्रतिनिधिसभा सांसद् पम्फा भुसालले उद्घाटन गरिन् ।

विद्यालय निर्माणका लागि सुनौलो नेपाल नामक संस्थाले समन्वय गरेको थियो । निर्माण सुरु भएको १३ महिना पछि निर्माण सम्पन्न भई हस्तान्तरण गरिएको हो ।

नवनिर्मित भवन हस्तान्तरण गर्दै चाइना फाउन्डेसन फर पोभर्टि इलेभेसनका नेपाल डाइरेक्टर चाउ पी छ्याङले नेपाल र चीनबीच एतिहासिक सम्बन्ध रहेको भन्दै यस्ता खालका सहयोगले आगामी दिनमा सम्बन्ध थप बलियो बन्ने विश्वास व्यक्त गरिन् । नेपाल र चीनबीच सरकारी स्तरमा मात्र नभई जनताको स्तरमा समेत प्रगाढ सम्बन्ध रहेको भन्दै उनले विद्यालय भवन बनेकामा खुसी व्यक्त गरिन् ।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेकी प्रतिनिधि सभाका सांसद् पम्फा भुसालले भूकम्प पछि संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको विद्यालयलाई सहयोग गरेकोमा चीन सरकार र चिनियाँ जनतालाई धन्यवाद दिइन् । सांसद भुसालले नेपालको शैक्षिक जनशक्ति निर्माणमा चीन सरकारले पुर्याउदै आएको सहयोगको खुलेर प्रसंसा गरिन् । शैक्षिक क्षेत्रमा चीन सरकार र चिनियाँ जनताले गरेको यस्ता खाले सहयोगले दुई देशका जनताबीच असल सम्बन्ध स्थापित गराउनेमा उनले विश्वास व्यक्त गरिन् ।

महेन्द्र आदर्श विद्याश्रम लामो शैक्षिक इतिहास बोकेको शैक्षिक संस्था हो । अन्य सरकारी विद्यालयको गुणस्तर घटिरहेका बेला यो विद्यालयले एसईईमा सत प्रतिशत विद्यार्थी उतिर्ण गराउंदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार