‘हाइकमान्ड’ लाई हतारो,नेता–कार्यकर्ता अन्योलमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति सार्वजनिक भएसँगै पार्टीभित्र महाधिवेशनको विषयले पनि चर्चा पाउन थालेको छ । पार्टी एकीकरण भएको एक वर्ष बित्दासम्म कुनै जिम्मेवारी नपाएका केन्द्रीय सदस्य केन्द्रीय समितिको दोस्रो बैठक नै नबसी ‘हाइकमान्ड’ बाटै जिल्ला अधिवेशन र केन्द्रीय महाधिवेशनको कुरा उठाइएपछि अन्योलमा परेका छन् ।

पार्टी एकीकरणपछि निर्वाचन आयोगमा दल दर्ताका लागि गत वर्ष जेठ १० गते प्रधानमन्त्रीनिवास बालुवाटारमा केन्द्रीय समितिको बैठक बसेको थियो । त्यतिबेला बिनाअजेन्डा केन्द्रीय सदस्यलाई नागरिकताको फोटोकपी ल्याएर आउन सूचना गरिएको थियो । स्थायी समिति बैठक पनि पार्टी एकतापछि एकपटक मात्र बसेको छ । पुस २ गते स्थायी समितिको बैठक बसेको थियो ।

तर केन्द्रीय समिति र स्थायी समितिमा अजेन्डा प्रवेश नगराईकन पार्टी अध्यक्षद्वयमध्ये एक पुष्पकमल दाहाल प्रचण्डले जिल्ला समिति गठनको एक वर्षभित्र जिल्ला अधिवेशन र त्यसपछि महाधिवेशन हुने बताएपछि पार्टीभित्र तरंग फैलिएको छ । जिल्ला समिति गठन भइसकेका छन् । दाहालको अभिव्यक्तिपछि पार्टीमा महाधिवेशनताका हुने बहस अहिलेबाटै सुरु भएको छ । अधिवेशन र महाधिवेशनको पक्ष र विपक्षमा अभिव्यक्ति आउन थालेका छन् । यसमा सचिवालय सदस्य ईश्वर पोखरेल अग्रपंक्तिमा देखिएका छन् । पार्टीका अर्का नेता वामदेव गौतमले पनि महाधिवेशनको चर्चालाई साथ दिन थालिसकेका छन् ।

पोखरेल र गौतम दुवैजना महाधिवेशनको पक्षमा छन् तर उनीहरू पार्टीभित्रको वैचारिक बहसमा दाहालको विपक्षमा उत्रिएका छन् । दाहालले जबज (जनताको बहुदलीय जनवाद)लाई पुरानो र यथास्थितिवादको जडता भएको भनेपछि त्यसको प्रतिवाद गदैै पोखरेरले जबज नै श्रेष्ठ राजनीतिक विचार भएकोे दाबी गर्दै आएका छन् । तत्कालीन एमालेका नेता जबजको पक्षमा छन् भने माओवादी केन्द्रका नेता ‘एक्काइसौं शताब्दीको जनवाद’ को पक्षमा छन् । पार्टी एकताका बेला यी दुई विषयको टुंगो महाधिवेशनबाट लगाउने सहमति भएको थियो ।

हाइकमान्डमा महाधिवेशनको चर्चा चलेको विषयमा केन्द्रीय सदस्यले अनभिज्ञता प्रकट गरेका छन् । पार्टी एकीकरण प्रक्रिया नसकिएको, केन्द्रीय सदस्यबीच आपसमा परिचयसमेत हुन नपाएको र केन्द्रीय वा स्थायी समिति बैठक दोस्रोपटक बस्न नसकेको अवस्थामा महाधिवेशनको विषय बहसमा ल्याउनु ठीक नभएको केन्द्रीय सदस्य बताउँछन् । उनीहरुले पार्टीको लक्ष्य, उद्देश्य, कार्यदिशाबारे अहिलेसम्म जानकारी नभएको र राजनीतिक प्रतिवेदनसमेत तयार नभएको अवस्थामा जिल्ला अधिवेशन वा महाधिवेशनको कुरा उठाएर कार्यकर्तापंक्तिमा अन्योल सिर्जना भएको बताएका छन् ।

पार्टी सचिवालयमै छलफल नभईकन जिल्ला अधिवेशन वा महाधिवेशनबारे नेताहरुले आफूखुसी अभिव्यक्ति दिन थालेका छन् । सचिवालयका एक सदस्यका अनुसार अध्यक्ष दाहालले जिल्ला अधिवेशन र महाधिवेशनबारे सचिवालयमा छलफल नै नगरी अभिव्यक्ति दिएका हुन् । ‘उहाँ (दाहाल) ले यो विषयमा कसरी अभिव्यक्ति दिइरहनु भएको छ । आगामी सचिवलाय बैठकमा छलफल हुन्छ । पार्टी एकीकरण र कार्यविभाजन तथा अन्य धेरै काम गर्न बाँकी नै छ । कतिपय सन्दर्भमा हामी पनि सहभागी कार्यक्रममा उहाँले त्यो कुरा बोल्नुभयो। त्यसबारे पनि छलफल गर्नुपर्छ’, सचिवालयका ती सदस्यले भने ।

स्थायी समिति बैठक दोस्रोपटक बस्न नसकेको अवस्थामा हतारोमा अधिवेशन र महाधिवेशनको कुरा उठाएर अन्योल सिर्जना गर्ने काम भएको पनि ती सदस्यले बताए । ‘अधिवेशन वा महाधिवेशनका आफ्नै प्रक्रिया हुन्छन् । यतिबेला जनसंगठनहरुको संयोजक र सहसंयोजक बनाएर पार्टी एकीकरणलाई अन्तिम चरणमा पुर्याइएको छ तर त्यसको नीतिगत निर्देशन केही भएको छैन । धेरै काम गर्न बाँकी नै छ । यस्तो बेलामा अधिवेशन र महाधिवेशनको कुरा किन चर्चामा ल्याइएको छ भन्ने बुझ्न सकिएको छैन,’ ती सदस्यले भने ।

स्थायी समिति सदस्य मुकुन्द न्यौपाने जिल्ला अधिवेशन र केन्द्रीय महाधिवेशन अहिलेलाई अलि टाढाको विषय भएको बताउँछन् । उनका अनुसार दुई पार्टीका कार्यकर्ता घुलनशील नभएको अवस्थामा अधिवेशन र महाधिवेशन गर्ने विषयले आवश्यकताभन्दा बढी चर्चा भएको छ । ‘अहिले दुई पार्टी एकीकरण भएको एक वर्ष पुग्यो । एकीकृत पार्टीको बैठक केन्द्रमा एक/दुई पटक भन्दा बस्न सकेको छैन । बैठक नबसी अधिवेशनबारे छलफल हुँदैन । अधिवेशनका लागि मापदण्ड चाहिन्छ । त्यसकारण यो विषय अलि टाढा होला कि भन्ने मलाई लाग्छ’, न्यौपानेले भने ।

केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले बेला न कुबेला अधिवेशनको कुरा उठाइएको बताए । उनले भने, ‘पार्टी एकीकरणका कतिपय कार्य बाँकी नै छन् । राजनीतिक प्रतिवेदन छैन । केन्द्रीय समितिको बैठक एकपटकबाहेक बस्न सकेको छैन । स्थायी समितिको बैठक पनि एकपटक मात्रै बसेको छ । यस्तो अवस्थामा जिल्ला अधिवेशन वा केन्द्रीय महाधिवेशन उठाएर कार्यकर्तामा भ्रम सिर्जना गर्ने काम भएको छ ।’ उनका अनुसार पोलिटब्युरो गठन नहुँदा केन्द्रीय सदस्यको कार्यविभाजन रोकिएको र यसले गर्दा नेतृत्व नै असफल भएको आरोप लागेको छ ।

खतिबडाले प्रधानमन्त्रीको काँध फेर्ने कुरा र महाधिवेशनको कुरा एकैपटक चर्चामा ल्याइनुले केही स्वार्थ समूहले पार्टीभित्र खेल्न खोजेको आभास भएको बताए । ‘प्रधानमन्त्रीको काँध जुनबेला फेर्ने हो त्यहीबेला कार्यान्वयन चरणमा गए भैहाल्छ । दुई अध्यक्षबीच भएको सहमतिलाई अहिले छरपस्ट पारेर पार्टी र सरकार दुवैमा अन्योल उत्पन्न गराउन खोज्नु राम्रो होइन’, खतिवडाले भने ।

अर्का केन्द्रीय सदस्य ठाकुर गैरेले देशभरका कार्यकर्तालाई पार्टी नेतृत्वले एकताबद्ध बनाएर लान नसकेको बताए । पार्टीका तर्फबाट सरकारलाई सहयोग गर्न सक्ने आधार नै नभईकन जिल्ला अधिवेशन वा महाधिवेशनको चर्चाले केन्द्रीय सदस्य नै अन्योलमा परेको बताए । ‘राजनीतिक प्रतिवेदन, पार्टीको लक्ष्य उद्देश्य र दृष्टिकोण बनेको छैन । एकीकरणका काम बाँकी नै भएको अवस्थामा सरकार परिवर्तन वा अधिवेशनको कुरा उठाउनुको कुनै अर्थ छैन’, गैरेले भने, ‘महत्वपूर्ण काम बाँकी छन् । जनसंगठन एकीकरण गाइडलाइन बाँकी नै छ । यस्तो अवस्थामा नेताहरु महाधिवेशनको चर्चामा लाग्नु भनेको व्यर्थैमा समय खर्चनु मात्रै हो ।’ पार्टीका अधिवेशन र महाधिवेशनबारे अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने बोलका छैनन् ।

आजको नागरिक न्युजमा खबर छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार