ओली–प्रचण्ड भेट, जिम्मेवारी बाँडफाँटमा रस्साकसी

काठमाडौं । पालैपालो सत्ताको नेतृत्व गर्ने सहमति कार्यान्वयन हुनुपर्ने विषय उठेसँगै पार्टीभित्र तरंग बढीरहेको बेला आइतबार नेकपाका दुई अध्यक्षले वार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच वार्ता भएको हो ।

प्रचण्डसँग एक्लै वार्ता गरेका प्रधानमन्त्री ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि एक्लै छलफल गरेका थिए । बालुवाटारमै अध्यक्षद्वय ओली र दाहालले महासचिव विष्णु पौडेल तथा सचिवालय सदस्य रामबहादुर थापासँग पनि छलफल गरेका छन् । प्रधानमन्त्रीको वार्ता र छलफल पार्टीभित्रको जिम्मेवारी बाँडफँटमा केन्द्रित रहेको नेताहरुको भनाइ छ ।

एजेन्डा टुंगोमा पुग्न नसकेकै कारण नेताहरुले कार्यविभाजन र पोलिटब्युरो गठनबारे छलफल गर्ने भनिएको नेकपा बैठक सरेको सर्यै छ । जेठ ३ मा भ्रातृ संगनहरुको एकतालगत्तै बैठक बसेर टुंगो लगाइने भनिएको थियो ।

नेकाभित्र कुन विभाग कसरी बनाउने र कसलाई नेतृत्व दिने भन्नेमा रस्साकसी छ । विशेषगरी संगठनको नेतृत्व गर्ने संगठन विभागमा नेताहरुको आँखा लागेको छ । पार्टीको संगठन परिचालन र सबै रेकर्डसमेत राख्ने यो विभागमा कसलाई लैजाने भन्नेमा अध्यक्षद्वयबीच कुरा नमिलेको स्रोतको दावी छ ।

यो खबर आजको कान्तिपुर दैनिकले प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार