मनलाग्दी भाडा असुली बन्द गर्न रसुवाका विद्यार्थीहरुको माग

रसुवा । रसुवामा क्रियाशील बिद्यार्थी संगठनहरुले यातायात क्षेत्रमा भैरहेका बिकृति, विसंगति र अनियमितताको अन्त्य गर्दै राज्यले तोके बमोजिमको भाडा कायम गर्न माग गरेका छन् ।

रसुवा र नुवाकोटमा संचालित सार्वजनिक सवारी साधनहरुले मनपरी ढंगले भाडा लिने गरेको जनगुनासो बढ्न थालेपछि आइतबार बिद्यार्थीहरुले यातायात व्यवसायीहरुको ध्यानाकर्षण गराएका हुन् ।

५ बुँदे ध्यानाकर्षण पत्र बुझाउदै उनीहरुले यथोचित र न्यायपुर्ण ढङ्गले तत्काल माग सम्बोधन गर्न माग गरेका छन् । राज्यले कायम गरेको भाडा दर कार्यान्वयन हुन् नसकेकोप्रति उनीहरुले असन्तुष्टि प्रकट गरेका छन्  ।

बिद्यार्थी, जेष्ठ नागरिक, अपाङ्गता भएका ब्याक्ति लगायतलाई परिचयपत्रका आधारमा सहुलियत दिनुपर्नेमा त्यसो हुन् नसकेको भन्दै ध्यानाकर्षण गराइएको अनेरास्ववियू नेता अर्जुन पौडेलले बताए । पहिलो चरणमा ध्यानाकर्षण मात्र गराइएको र माग पुरा नभए थप आन्दोलन गर्ने उनले चेतावनी दिए ।

ध्यानाकर्षण पत्र बुझाउँदै अनेरास्ववियूका दिपक पौडेलले सके बढि भाडा असुल्ने नसके आफ्नो सेवा नै बन्द गर्ने यातायात व्यवसायीहरुको कदम गलत भएको बताए ।

अनेरास्वबियूका नेता अर्जुन पौडेल, दिपक पौडेल र नेपाल विद्यार्थी संघका शालिकराम अधिकारीद्वारा हस्ताक्षेरित ध्यानाकर्षण पत्रमा राज्यको नीति र मापदण्ड विपरित कायम गरिएको भाडा दर अविलम्ब फिर्ता लिनुपर्ने, विद्यार्थी परिचयपत्रका आधारमा निसर्त छुट दिनुपर्ने, सम्पूर्ण यातायात व्यवसायी संघहरु कम्पनिमा दर्ता गरेर मात्र संचालन गर्नुपर्ने माग गरिएको छ  ।

त्यसैगरी ध्यानाकर्षण पत्रमा सेवा नदिने तर अतिरिक्त शिर्षकको शुल्क असुली बन्द गर्नुपर्ने, म्याद गुज्रेका र मर्मत सम्भार नगरिएका सवारी साधन संचालनमा रोक लगाउनुपर्ने लगायतका माग राखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार