राजनीतिक हत्याका घटना दोहोरिन सक्छ : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक हत्याका घटना दोहोरिन सक्ने संकेत गरेका छन् ।

मदन भण्डारीको ६८ जन्मजयन्तीको अवसरमा शनिवार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक हत्या प्रतिहत्याका दोषिलाई पत्ता लगाई भविष्यमा त्यस्ता घटना नदोहोरिने सुनिश्चिता गर्न नसकिएको बताएका छन् । उनले मदन भण्डारीको हत्या नियोजित भएपनि हत्यारा पत्ता नलाग्नु दुखद भएको समेत बताए ।

मदन भण्डारीको नियोजित हत्या हो भन्ने सबैलाई लागेको भएपनि आजसम्म हत्यारा किटेर भन्न सक्ने प्रमाण प्रस्तुत गर्न नसकेकाले भोलीपनि त्यस्तै घटना दोहोरिन सक्ने संकेत उनले गरे । ‘मदन भण्डारीको नियोजित हत्या हो । दुर्घटना होइन भन्ने जनतालाई लागेको छ,’ उनले भने, ‘हामी सरकारमा छौं, तर हत्यारा फलानो हो भनेर किटेर भन्ने प्रमाण प्रस्तुत गर्न सकेका छैनौं ।’

नेपालको इतिहासमा उच्च राजनीतिक हत्या प्रतिहत्याका भयानक र लामो श्रृंखला भएको उल्लेख गर्दे उनले ठूला ठूला राजनीतिक हत्या प्रतिहत्याका घटनाहरु रोक्ने प्रयासमा सरकार अहिलेसम्म सफल हुन नसकेको बताए । मदन भण्डारी हत्या, उनका चालकको हत्या अनि दरबारहत्याकाण्ड भईसक्दा पनि अहिलेसम्म हत्यारा पत्ता लगाउन नसकेको तर्फ गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।

आफू पहिलो पटक प्रधानमन्त्री भएपछि नारायणहिटीमा उभिएर दरबार हत्याकाण्डको यथार्थ पत्ता लगाइछाड्छौं भनेको तर, अहिलेसम्म नसकिएको भन्दै उनले भने, ‘आखिर के ले दिँदैन ? जनताले नदिएको पक्कै होइन । सरकारमा हामी नै छौं तर, यस्तै भएको हो भन्नसक्ने ठाउँमा पनि छैनौं ।’

उनले राजा विरुद्ध बोल्न सक्ने र बैदेशिक प्रतिक्रियावादीलाई पनि ठाडठाडै लल्कार्न सक्ने हैसियत राख्न सक्ने नेता पनि भएकाले प्रतिक्रियावादीहरुले हत्याको डिजाईन गरेको हो भनेर बुझ्न गाह्रो नभएपनि हत्यारा पत्ता लगाउन नसक्दा भविष्यमा पनि त्यस्ता घटना हुन सक्ने आंशका गरे ।

भण्डारीको हत्यारा पत्ता लगाएर जनताको बीचमा ल्याउन सक्ने हो भने त्यस्ता घटनाबाट बच्न सकिने उनले बताए । हत्याकाण्डको यथार्थ पत्ता लगाउनुका साटो यसै ठीक हुन्छ भनेर जस्तो गरेर पन्छाउन थालिएको उनले बताए । ठूला हत्याकाण्डको कारण पत्ता लगाउन नसक्दा फेरि त्यस्तो घटना हुँदैन भन्ने सुनिश्चित गर्न नसकिएको उनले बताए ।

‘मदन भण्डारीको ४२ वर्षमा हत्या भयो हामी त ६५ वर्षमा हिँडिराखेका छौं,’ उनले भने, ‘हाम्रो हत्या त भएको छैन नि ! कहिलेकाहीँ लाग्छ हामी छाला जोगाउतिर पो लागिराखेका छौं कि?’ उनले भण्डारीको सच्चा उत्तराधिकारीको रूपमा प्रधानमन्त्री केपी शर्मा ओली र आफू भएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार