सार्वजनिक यातायात सुधारमा पाँच बुँदे सहमति

रसुवा । रसुवा जिल्लामा यातायात व्यवस्थापनका सम्बन्धमा शुक्रबार जिल्ला प्रशासन कार्यालय रसुवामा प्रशासन, विद्यार्थी र यातायात व्यवसायीबीच पाँच बुँदे सहमति भएको छ ।

सहमतिमा कानुन विपरीत चलेका पुराना सवारीलाई तत्काल हटाउने; विद्यार्थी, अपाङ्ग भएका व्यक्ति र जेष्ठ नागरिकलाई दिने छुट सहुलियत पूर्ण कार्यान्वयन गर्ने विषय छ । यस्तै सहमतिमा सवारी साधनले प्रदान गर्ने अतिरिक्त सुविधालाई १५ दिनभित्र पुरा गराउने र यसलाई ट्राफिक प्रहरीसहित विद्यार्थी संगठनले अनुगमन गर्ने छ । सबै यातायात कम्पनी प्रा.लि.लाई यथासिघ्र कम्पनीमा दर्ता प्रक्रियामा लैजाने सहमति भएको छ । टाइम कार्ड, अतिरिक्त सुविधा र भाडादरको पुनरावलोकनका लागि आगामी असार २८ गते जिल्ला प्रशासन कार्यालयमा पुनः बैठक गर्ने सहमति भएको छ ।

प्रमुख जिल्ला अधिकारी, सुरक्षा र पत्रकारको रोहबरमा भएको सहमतिमा विद्यार्थी संगठनका तर्फबाट सुरेश अधिकारी, अर्जुन पौडेल, शालिग्राम अधिकारी, मेनडोल्मा तामाङ, सन्दीप पौडेल, दीपक पौडेल, सुशिल नगरकोटी र कमल तामाङले हस्ताक्षर गरेका छन् । यातायात व्यवसायीका तर्फबाट धनबहादुर श्रेष्ठ, हरिप्रसाद न्यौपाने, इश्वर श्रेष्ठ, योगेश अमात्य र दीपक श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यातायात क्षेत्रको सुधारका लागि विद्यार्थी संगठनहरुले यस अघि जिल्ला प्रशासन कार्यालय रसुवामा माग पत्र बुझाएका थिए । विद्यार्थी स‌ंगठनहरुको अगुवाइमा भएको यस कार्यले समग्र सार्वजनिक यातायातमा सुधार हुने आधार बनेको नागरिक अगुवाहरुको बुझाइ रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार