एसेलुभूमे माविको अभिभावक भेला सम्पन्न

नुवाकोट । नुवाकोटको किस्पाङ-३ काहुलेस्थित एसेलुभूमे माविको अभिभावक भेला तथा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको गुणस्तर सुधारका लागि छलफल गर्ने उद्देश्यले आयोजित भेलामा अभिभावकले विभिन्न सुझाव दिएका थिए ।

नमूना विद्यालयको रुपमा छनोट भएको विद्यालयले नमुना विद्यालयको कार्ययोजना अन्तरगत अभिभावक भेला एवम् सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको विद्यालयका सहायक प्रधानाध्यापक पवन कुमार पौडेलले जानकारी दिए ।

जिल्लाको विकट ठाउँमा रहेर पनि शैक्षिक क्षेत्रमा उल्लेख्य प्रगति गरेको भन्दै अविभावकहरुले विद्यालय प्रशासन, व्यवस्थापन समिति, शिक्षक र सरोकारवाला सबैलाई धन्यवाद दिए ।

समाजसेवी तथा अभिभावक माधव न्यौपानेले हाल विद्यालयमा विद्यार्थीको संख्या उल्लेख्य रूपमा रहेको र यसलाई निरन्तरता दिन अभिभावक, विद्यार्थी र शिक्षकको सहकार्य र एकता आवश्यक रहेकोमा जोड दिए । उनले राम्रो काम गर्नेलाई सम्मान र नराम्रो गर्नेलाई दण्डको व्यवस्था गर्दै उपयुक्त मुल्यांकन विधि अपनाउन समेत सुझाव दिए ।

त्यस्तै पन्चलिङे माविका अध्यक्ष रण बहादुर लामाले आफू पटक-पटक व्यवस्थापन समितिको सदस्यका रुपमा रहेर विद्यालयको गुणस्तर वृद्धिका लागि सहयोग गरेको भन्दै आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

शिक्षक अभिभावक संघका अध्यक्ष एवंम् कार्यक्रमका विशेष अतिथि बिरबल तामाङले विद्यालय सबैको सहयोग र योगदानबाट अहिलेको अवस्थामा आइपुगेको बताउदै यसलाइ निरन्तरता दिन थप योगदान गर्न आफू तयार रहेको बताए । उनले विद्यालय जस्तो पवित्र ठाउमा  कसैले पनि राजनीतिक आखाले नहेरी निर्वाचित प्रतिनिधिहरुको भूमिका बढाउन पर्नेमा जोड दिए । विद्यालय शिक्षा सुधारको मुख्य पाटो अभिभावक-विद्यार्थी र शिक्षक समिति लगायत सबैको सहकार्य र एकताबाट मात्र सम्भव हुने हुदा सबैको एकता अपरिहार्य रहेकोमा उनले जोड दिए । उनले विद्यालयको आवश्यकता अनुसार गाउँपालिकालाई बजेट बिनियोजन गर्न अनुरोध समेत गरे । राजनीतिक आग्रह-पूर्वाग्रह चुनावको बेला मात्र हुने भन्दै चुनावपछि जसले जिते पनि विकास र समृद्धिमा एक हुनुपर्नेमा जोड दिए ।

विद्यालयको भौतिक अबस्था, शैक्षिक स्थित लगायत समग्र पक्षका बारेमा बोल्दै प्रधानाध्यापक कृष्ण बहादुर सापकोटाले विद्यार्थीको चाप अनुसार शिक्षक दरबन्दी नरहेको र बिद्यालयलाई ठूलो आर्थिक भार रहेको जानकारी दिए । नमुना विद्यालयको कार्यहरु द्रुत गतिमा अगाडि बढिरहेको भन्दै उनले छिट्टै सम्पन्न हुने अवस्थामा रहेको बताए ।

कार्यक्रमका विशेष अतिथि एवम् वडाअध्यक्ष अमृत बहादुर तामाङले आफू निर्वाचित भएर आएपछी वडाको शैक्षिक क्षेत्रको विकासमा आफूले विशेष जोड दिएको बताए । आफ्नो वडाका विद्यालयहरुमा सिसि क्यामारा जडान र बिधुतिय हाजिरीको समेत सुरुवात गरेको बताउदै उनले यस विद्यालयमा पनि आवश्यक सहयोग गर्ने वचन दिए  ।

त्यस्तै प्रमुख अतिथि एवम् गाउँपालिकाका अध्यक्ष छत्र बहादुर लामाले विद्यालयको प्रगतिको कामना गर्दै समग्र किस्पाङको विकासमा आफू तल्लीन रहेको बताए । स्थानीय सरकार भनी पनि आवश्यक कानुन नहुदा कतिपय काम गर्न नसकिएको भन्दै उनले मौजुदा कानुनमा रहेर आफूले सक्दो सहयोग गर्ने बताए ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नन्दराम न्यौपानेले सबैको साथ् र सहयोगको निरन्तरताको अपेक्षा रहेको बताउदै  विद्यालयको समग्र सुधारको अभियान निरन्तर चलिरहने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार