नेकपामा नेतृत्वका सम्बन्धमा पहिले नै सहमति भैसकेको छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा नेतृत्वसम्वन्धी निर्णय सहमतिबाटै गरिने बताएका छन् । पार्टी एकता घोषणा गर्दा नै शीर्ष नेताहरुले नेतृत्वको लागि सहमतिमा हस्ताक्षर गरेको प्रसंग उल्लेख गर्दै उनले पार्टी एकतामा उक्त कदम महत्वपूर्ण भएको दाबी गरे ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक कार्यदिशासहितको प्रतिवेदनमा सहमति जुटेको जानकारी दिंदै आगामी एकताको महाधिवेशनले नेतृत्व पनि सहमतिकै आधारमा चयन गर्ने बताए । प्रतिवेदन नहुँदा पार्टीका विचार, सिद्धान्तका विषयमा अन्यौलता रहेको भन्दै अब अन्यौलता अन्त्य भएको बताए ।

पार्टी एकता घोषणा गर्दा अबको महाधिवेशन एकताकै लागि हुने समझदारी भएको भन्दै उनले विचार, राजनीति र नेतृत्वसम्वन्धी निर्णय सहमतिबाट गरिने प्रष्ट पारे  ।

अध्यक्ष प्रचण्डले पार्टीको राजनीतिक प्रतिवेदनमा सहमति जुटेकाले अब छिट्टै प्रकाशनमा जाने समेत बताए ।

अध्यक्ष ओली र आफ्नो बीचमा एक वर्षदेखि सम्पूर्ण रुपले सहमति भएर प्रकाशनमा जान नसकेको राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने सहमति भएकोमा उनले खुसी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार