भोजपुर घट्ना : नियन्त्रणमा लिएर गोली हानेको खुलासा

काठमाडौं । भोजपुरमा बुधबार नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताको गोली लागेर प्रहरी जवान सञ्जीव राईको मृत्यु भयो । प्रहरी र विप्लव समूहबीच भएको भिडन्तमा जवान राइको मृत्यु भएको बताइए पनि उक्त घटना भिडन्त नभएको खुलासा भएको छ ।

प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कार्यकर्ताले प्रहरी जवानलाई नियन्त्रणमा लिएर गोली हानेको रहस्य खुलेको हो । बुधबार बिहान भोजपुर बजारको हटिया लाइन क्षेत्रमा गस्तीमा रहेका बेला राईलाई नियन्त्रणमा लिएर हत्या गरिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

गस्ती टोलीभन्दा केही अगाडि रहेका राईलाई विप्लव कार्यकर्ताले समातेर कञ्चटमा गोली हाने । राईको घटनास्थलमै मृत्यु भयो । पछिपछि आइरहेको गस्ती टोलीले राई गोलीले ढलेको देख्नेबित्तिकै फायर खोलेको थियो । गोली विप्लव समूहका निरकुमार राईलाई लाग्यो । उनी पनि त्यहीं ढाले । निरकुमारले नै प्रहरी जवान सञ्जिवमाथि गोली हानेका थिए ।

प्रहरीले घटनास्थलबाट चाइनिज पेस्तोल र चार राउण्ड गोलीसमेत बरामद गरेको छ । प्रहरीमाथि आक्रमण भएपछि अहिले त्यहाँको सुरक्षा कडा पारिएको छ ।

यता प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि विप्लवका कार्यकर्ताले प्रहरीमाथि गोली हानेको बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार