पासाङल्हामू राजमार्गमा चल्ने सार्वजनिक यातायातको भाडा घट्ने

रसुवा । पासाङल्हामू राजमार्गमा चल्ने सार्वजनिक यातायातमा १५ प्रतिशतसम्म भाडा घट्ने भएको छ । विगत लामो समयदेखि आन्दोलनरत् विद्यार्थी संगठन र यातायात व्यवसायीबीच शनिबार तीन बुँदे सहमति भएसंगै भाडा घट्ने भएको हो

रसुवामा संचालिन यातायात कम्पनिले हाल कायम रहेको भाडादरमा काठमाडौदेखि कालिकास्थानसम्म १५ प्रतिशत र धुन्चे, स्यफ्रुबेशी, चिलिमे लगायतका क्षेत्रमा ५ प्रतिशत भाडा घटाउने सहमति भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनका नेता अर्जुन पौडेलले जानकारी दिए । सहमति श्रावण १ गते देखि लागू हुनेछ ।

पासाङल्हामू राजमार्गको रसुवा खण्डमा सञ्चालन हुने सार्वजनिक यातायातलाई व्यवस्थित बनाउनका लागि व्यवसायी र विद्यार्थी संगठनबीच उक्त सहमति भएको पौडेलले बताए । यातायात क्षेत्रमा विद्यमान समस्याको समाधानको लागि तत्काल प्रक्रिया अघि बढाउने सहमतिपत्रमा उल्लेख छ  ।

सहमतिअनुसार सार्वजनिक यातायातका सवारी साधनमा नेपाल सरकारको प्रचलित नियमअनुसार विद्यार्थी, अपांगता भएका व्यक्ति र जेष्ठ नागरिकलाई दिने छुट र सहुलियतलाई पूर्ण रुपमा कार्यान्वयन गरिने छ । छुट सहुलियतका लागि सम्बन्धित व्यक्तिले छोटो दूरीमा परिचय-पत्र र लामो दूरीमा परिचय-पत्रको प्रतिलिपिसमेत पेस गर्नुपर्ने सहमति भएको पौडेलले बताए ।

सार्वजनिक यातायातका साधनले अतिरिक्त सेवा दिने भन्दै भाडा बढी लिने गरे पनि सेवा भने दिने गरेका छैनन् । सहमतिपत्रमा यसको समाधानको लागि १५ दिनको समयसिमा तोकिएको छ । व्यवसायीले १५ दिनभित्र यात्रुलाई सुविधा वापत पानी दिनुपर्ने, टिभी, पंखा, वाइफाई, एसी लगायतका सामग्रीको व्यवस्था गर्नुपर्ने तथा बिग्रिएको भए तत्काल मर्मत गर्नुपर्ने छ

प्रमुख जिल्ला अधिकारी, अनुसन्धान अधिकृत र नागरिक समाजको उपस्थितमा सदरमुकाम धुन्चेमा भएको छलफलमा यातायात व्यवसायिकको तर्फबाट धनबहादुर श्रेष्ठ, हरि प्रसाद न्यौपाने, ईश्वर श्रेष्ठ लगायतको सहभागीता थियो । विद्यार्थी संगठनको तर्फबाट अर्जुन पौडेल, मेन्डोल्मा तामाङ, दिपक पौडेल ,सन्दिप पौडेल, सुशील नगरकोटी लगायत उपस्तिथि थिए ।

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार