नेकपाको स्कुल विभागमा श्रेष्ठ र पोखरेको दाबी

काठमाडौं । केही दिन पहिले मात्र पार्टीका विभागहरुको भागवण्डा टुंग्याएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र स्कुल विभागलाई लिएर तत्कालीन एमाले र माओवादीबीच विवाद देखिएको छ ।

नेकपाका ३२ वटा विभागमध्ये संगठन र विदेशसहित १८ पूर्वएमालेले प्रचार र अर्थसहित १४ विभाग पूर्वमाओवादीले लिने सहमति भएको बताइएको थियो । तर, यसअघि सहमति हुन् बाँकी रहेको भनिएको स्कुल विभाग कसले लिने भन्नेमा अहिले विवाद देखिएको हो ।

पूर्वएमालेले आफ्नो भागमा परेका विभागीय प्रमुखहरु टुंगो लगाइसकेको बताएको छ । पूर्वएमालेका नेताहरुबीच संगठन विभागमा वामदेव गौतम, विदेश विभागमा माधवकुमार नेपाल र नीति तथा प्रतिष्ठानमा झलनाथ खनाललाई प्रमुख बनाउने सहमति जुटेको बताइएको छ ।

पूर्वमाओवादीले भने उसले पाएको विभागको नेतृत्व कसलाई दिने भन्नेमा सहमति जुटाउन सकेको छैन ।

नेकपामा अर्को महत्वपूर्ण मानिएको स्कुल विभागमा तत्कालीन एमाले र माओवादी दुबैले दाबी गरेका छन् । यो विभागमा पूर्वएमालेको तर्फबाट रक्षामन्त्री इश्वर पोखरेल र पूर्वमाओवादीको तर्फबाट प्रवक्ता नारायणकाजी श्रेष्ठले दाबी गरिरहेका छन् । स्कुल विभाग प्रमुख आफूले पाउनुपर्ने दाबी दुवै नेताले गरेको नेकपा श्रोतले जानकारी दिएको छ ।

श्रेष्ठलाई प्रचार विभाग प्रमुख बनाएर पोखरेललाई स्कुल विभाग दिने तयारी श्रेष्ठले अस्विकार गरेका छन् । श्रेष्ठले प्रचार विभाग नलिने अडान राखेका छन् ।

पछिल्लो समय पार्टीको कार्यदिशा र विचारका सन्दर्भमा पोखरेलले दिएका प्रस्तुतीले चिढिएका अध्यक्ष प्रचण्ड पोखरेलका नाममा सहमत नहुने देखिएकाले स्कुल विभागमा पोखरेको भन्दा श्रेष्ठको सम्भावना बढी रहेको श्रोतले बतायो ।

माओवादीको भागमा परेको आर्थिक विभागमा कसलाई लैजाने भन्ने टुंगो लागेको छैन ।

नेकपाले विभागीय प्रमुखहरु तोक्नेलगायत एकीकरण बाँकी प्रक्रिया टुंग्याउन साउन ५ गते सचिवालय बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार