काठमाण्डौ । रसुवाका रोशनकुमार न्यौपाने एनआइसी एशिया बैंक लिमीटेडको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । ३८ वर्षीय न्यौपाने देशका वाणिज्य बैंकहरुका सीइओमध्ये सबैभन्दा कान्छा हुन् ।
विगत ९ महिनादेखि कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकलाई नेतृत्व दिइरहेका न्यौपानेले सो अवधिमा निकै कुशलतापूर्वक काम गरेपछि संचालक समितिले उनैलाई प्रमुख कार्यकारी अधिकृत बनाएको हो ।
न्यौपानेको नेतृत्वमा बैंकले विभिन्न वित्तिय परिसूचकहरुमा उत्कृष्ट रुपमा सुधार गर्दै निक्षेप, कर्जा तथा वासलातको आकार, शाखा तथा एटिएम सञ्जाल लगायतका परिसूचकमा नेपालकै सबैभन्दा ठूलो बैंकको पहिचान बनाइसकेको छ ।
आन्तरिक लेखापरीक्षण विभाग प्रमुखको रुपमा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका न्यौपानेले बैंकको प्रमुख जोखिम अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत, तथा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए । न्यौपाने चार्टड एकाउण्टेण्ट समेत हुन् ।
प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएपछि न्यौपानेले बैंकका समस्त ग्राहकवहरुलाई उत्कृष्ट, सरल एवं सुलभ बैकिङ्ग सेवा प्रदान गरीे समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय संकल्पले परिकल्पना गरेबमोजिम सबै सरोकारवालाहरुको सर्वाङ्गिण आर्थिक सम्बृद्धिक लागि एक उत्कृष्ट बैंकको रुपमा एनआइसीलाई थप उचाईमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।













