काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो स्वर्ण जयन्तीको अवसर पारेर ‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ। नाडा अटो शोको १८औँ संस्करण आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी परिसरमा सञ्चालन हुनेछ।

यस वर्षको अटो शोमा करिब २०० स्टल रहने आयोजकले जनाएको छ। प्रदर्शनीमा २२ ब्रान्डका प्यासेन्जर कार, १७ ब्रान्डका लाइट कमर्सियल भेहिकल र १२ ब्रान्डका दुईपांग्रे सवारीसाधन सहभागी हुनेछन्। त्यस्तै, ८ नेपाली उत्पादक तथा ६९ कम्पोनेन्ट र अन्य अटोमोबाइल व्यवसायी समेत प्रदर्शनीमा सहभागी हुनेछन्।
अटो शोमा नयाँ तथा विद्युतीय सवारीसाधनसहित अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न उत्पादन र सेवाहरू एकै स्थानमा अवलोकन गर्न सकिनेछ। प्रदर्शनीमा स्पेयर पार्ट्स, टायर, लुब्रिकेन्ट्स, अटो कम्पोनेन्ट्स, ग्यारेज इक्विपमेन्ट्स लगायतका सामग्रीका साथै बैंकिङ तथा बीमा सेवासमेत उपलब्ध हुनेछन्।
नाडाका कोषाध्यक्ष पंकज अग्रवालका अनुसार अटो शोले उपभोक्तालाई विभिन्न ब्रान्ड, मोडल र उत्पादनलाई एउटै स्थानमा अवलोकन गरी आफ्नो आवश्यकता र बजेटअनुसार उपयुक्त सवारीसाधन तथा अटोमोबाइल सामग्री छनोट गर्न सहज बनाउनेछ।
उनका अनुसार पछिल्लो समय सुस्ताएको अटोमोबाइल बजारलाई चलायमान बनाउन पनि अटो शोले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। नयाँ सवारीसाधन, प्रविधि र उत्पादनहरू सार्वजनिक तथा प्रदर्शित गर्ने महत्वपूर्ण मञ्चका रूपमा समेत यस वर्षको नाडा अटो शो रहने उनले बताए।
स्वर्ण जयन्तीको अवसरमा आयोजना हुन लागेको यस विशेष संस्करणमा देशभरका उपभोक्ता तथा अटोमोबाइलप्रेमीलाई सहभागी हुन अग्रवालले आग्रह गरेका छन्। उनका अनुसार प्रदर्शनीले अटोमोबाइल क्षेत्रको पछिल्लो प्रविधि, नयाँ उत्पादन तथा बजारमा उपलब्ध विभिन्न विकल्पबारे प्रत्यक्ष जानकारी लिन उपभोक्तालाई महत्वपूर्ण अवसर प्रदान गर्नेछ।













