नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा कलाकार उत्तम केसी निर्वाचित भएका छन् । संघको यही जेठ ३ शनिबार सम्पन्न २१ औँ साधारणसभा तथा अधिवेशनमार्फत केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।
कलाकार सविन श्रेष्ठलाई भारी मतान्तरले पराजित गर्दै संघको अध्यक्षमा केसी विजयी भएका हुन् । कुल ३५६ मत खस्दा केसीले २१६ मत प्राप्त गर्दा प्रतिस्पर्धी सविन श्रेष्ठले १३२ मत प्राप्त गरे।
संघको उपाध्यक्षमा शिवहरी बैरागी (१४६ मत) र पूजना प्रधान (१४४ मत) प्राप्त गरेका छन् । यस्तै महासचिव पदमा सुनिल कटवाल १९५ मतका साथ विजयी भएका छन् । सचिव पदमा गोपाल ढकाल २१४ मतका साथ विजयी हुँदा कार्यसमितिमा कोषाध्यक्षमा तेजुला खतिवडा (१४९ मत) र सहकोषाध्यक्षमा पवन केसी (१६१ मत) ल्याएर विजयी भएका छन् ।
कार्यसमितिका १० सदस्यमा दमन रुपाखेती, इन्द्रबहादुर लामा ‘खम्बे’, चन्द्रकला राई ‘लब्ली संगम’, छुल्ठिम गुरुङ, नवीनकुमार श्रेष्ठ, जीवन थापा, सुलेमान ‘इकु’, रश्मि भट्ट , चन्द्रकला ‘मोनीका’ दाहाल र श्रीदेव भट्टराई निर्वाचित भएका छन् । नयाँ कार्यसमिति आगामी तीन बर्षका लागि चयन भएको हो ।
नवनिर्वाचित अध्यक्ष केसीले कलाकारको हकहित, चलचित्रकर्मीको सामाजिक सुरक्षा तथा संघलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।













