रसुवागढी र साञ्जेनको आईपिओ खुल्दै, कति पाइन्छ भर्न ?

काठमाडौं ।  रसुवागढी हाइड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत कम्पनीले साधारण शेयर (आईपिओ) निष्काशन गर्ने भएका छन् । दुबै कम्पनीले २०७६ वैशाख ६ गतेदेखि आईपिओ निष्कासन गर्ने भएका हुन् ।

आइपीओका लागि  वैशाख १० गतेसम्म आवेदन दिन सकिनेछ भने सो समयमा आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा भने ढिलोमा जेठ ५ गतेसम्म आवेदन गर्न सकिने व्यवस्था छ ।

रसुवागढी हाइड्रोपावरले जारी पूँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने १ अर्ब दुई करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको एक करोड २ लाख ६३ हजार १५० कित्ता शेयर निष्काशन गर्नेछ । निष्काशित शेयरमध्ये चार प्रतिशत बराबरको ४ लाख १० हजार ५२६ कित्ता कर्मचारीहरुलाई र ५ लाख १३ हजार १५७ कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्टाएर बाँकी रहेको ९३ लाख ३९ हजार ४ सय ६७ कित्ता शेयर सर्वसाधारणका लागि  निष्काशन हुनेछ । रसुवागढीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल तथा सह निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल, ग्लोबल आईएमई र सनराइज क्यापिटल छन् ।

यसैगरी साञ्जेन जलविद्युत कम्पनीले कुल जारी पूँजी ३ अर्ब ९५ करोड रुपैयाँको १५ प्रतिशतले हुन आउने ५४ करोड ७५ लाख रुपैयाँ बराबरको ५४ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्नेछ । निष्काशित शेयरमध्ये चार प्रतिशत बराबरको २ लाख १९ हजार कित्ता कर्मचारीहरुलाई र २ लाख ७३ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्टाएर बाँकी रहेको ४९ लाख ८२ हजार २५० कित्ता शेयर सर्वसाधारणमा निष्काशन हुनेछ । साञ्जेनको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष तथा सह निष्काशन तथा विक्री प्रबन्धक सनराइज र एनएमबि क्यापिटललाई तोकिएको छ ।

दुवै कम्पनीले निष्काशन गर्ने आईपिओमा लगानीकर्ताले न्यूनतम प्रतिकित्ता ५० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मको आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयहरु ७७ जिल्लाबाटै आईपिओमा आवेदन गर्न सकिन्छ । त्यसको साथै मेरो शेयर प्रयोगकर्ताहरुले सो सफ्टवेयर मार्फत पनि आईंपिओ भर्न सक्नेछन् ।

रसुवामा निर्माणाधीन साञ्जेनका दुई वटा आयोजना छन् । त्यसमध्ये अपर साञ्जेन हाइड्रोइलेक्ट्रिक प्रोजेक्टको क्षमता १४.८ मेगावाट रहेको छ भने सान्जेन हाइड्रोइलेक्ट्रिक प्रोजेक्टको क्षमता ४२.५ मेगावाट छ । यस्तै, रसुवागढी आयोजनाको क्षमता १११ मेगावाट छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार