काठमाडौं । साञ्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीको सेयरका लागि उत्साहजनक आवेदन परेको छ । आइपिओ निस्कासन भएको दोश्रो दिन आइतबार साँझसम्म साञ्जेनको ९८ प्रतिशत र रसुवागढीको ६२.६१ प्रतिशत सेयर बिक्री भएको छ ।
दोश्रो दिन साँझसम्ममा सान्जेन जलविद्युत कम्पनीको आइपीओमा करिव ९१ हजार आवेदकले ४८ लाख कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । माग अनुसार साञ्जेन जलविद्युतलाई अब करिब १ लाख ८२ हजार २५० कित्ताको मात्र आवेदन आवश्यक देखिन्छ ।
सान्जेनले जारी गरेको कुल ५४ लाख ७५ हजार कित्ता सेयरमध्ये ४९ लाख ८२ हजार २५० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यस्तै, रसुवागढीको आइपीओमा दोश्रो दिनसम्म देशभरबाट करिव ९२ हजार १६ आवेदकबाट ५८ लाख ४७ हजार ६५० कित्ता सेयर खरीदका लागि आवेदन परेको बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।
रसुवागढीले जारी गरेको कुल १ करोड २ लाख ६३ हजार १५० कित्ता सेयरमध्ये ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।
दुवै कम्पनिले शुक्रबार (वैशाख ६ गते)देखि आइपीओ बिक्री खुला गरेका हुन् । दुवै कम्पनीको आइपीओका लागि वैशाख १० गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने जेठ ५ गतेसम्म भर्न पाउने व्यवस्था रहेको छ ।
रसुवागढीमा न्यूनतम १० देखि अधिकतम ५ हजार कित्ता र साञ्जेनमा न्यूनतम १० देखि अधिकतम २ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने छ । दुवैमा आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिनु पर्नेछ ।
रसुवामा निर्माणाधीन साञ्जेनका दुई वटा आयोजना छन् । त्यसमध्ये अपर साञ्जेन हाइड्रोइलेक्ट्रिक प्रोजेक्टको क्षमता १४.८ मेगावाट रहेको छ भने सान्जेन हाइड्रोइलेक्ट्रिक प्रोजेक्टको क्षमता ४२.५ मेगावाट छ । यस्तै, रसुवागढी आयोजनाको क्षमता १११ मेगावाट छ ।
सरकारी निकायको लगानी रहेको र प्रतिमेगावाट लागत निकै कम रहेका कारण दुवै आयोजनामा सर्वसाधारण लगानीकर्ता आकर्षित भएका हुन् ।













